पाँच बल्ड्याङ खाएको थियो ट्याक्सी: फायरफाइटर दम्पतीको घटनास्थलमै मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १७ जुन । हङकङको चिङ शा राजमार्गमा भ्यान र ट्याक्सीबीच भएको भयानक दुर्घटनामा एक अग्निनियन्त्रक र उनकी श्रीमतीको ज्यान गएको छ।

मंगलबार राति साढे १० बजेतिर पूर्वी चिङ शा राजमार्गको होइ लाई इस्टेट नजिकै भएको यो दुर्घटनामा ३८ वर्षीय अग्निनियन्त्रक र उनकी ३५ वर्षीया श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो। उनीहरू ट्याक्सीको पछाडि बसेका थिए।

दुर्घटनापछि ट्याक्सी पाँच पटकभन्दा बढी पल्टिएको थियो। जोडी सडकमा फालिएका थिए। प्रहरीले घटनास्थलमा पुग्दा दुवैको शव फेला पारेको थियो।

प्रहरीले ४४ वर्षीय भ्यान चालकलाई खतरनाक रूपमा गाडी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरेको छ।

यो घटनाप्रति हङकङको फायर सर्भिस विभागले गहिरो दुःख व्यक्त गरेको छ। विभागले मृतक परिवारप्रति समवेदना प्रकट गर्दै सहयोग उपलब्ध गराउने बताएको छ।

दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ, जसमा भ्यानले ट्याक्सीको अगाडि भागमा ठक्कर दिँदा ट्याक्सी पल्टिएको देखिन्छ।





Comments

comments

139247