मकवानपुर । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमन र सक्रियता बढाइएको छ।
हेटौँडा औद्योगिक क्षेत्रभित्र विसं २०३२ सालमा स्थापना भई २०३५ देखि सञ्चालनमा आएको यो उद्योग विसं २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो।
त्यसयता यसलाई पुनः सञ्चालन गर्न पटक-पटक प्रयास भए पनि ती प्रयासले सार्थकता पाउन सकेका थिएनन्। यस वर्ष भने सरकारले विशेष चासो बढाएपछि सरकारी तवरबाट स्थलगत अनुुगमन र सक्रियता बढेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए।
सूचना अधिकारी भण्डारीका अनुसार कपडा उद्योगसँगै तत्कालीन समयमा बुटवलमा धागो कारखाना र बाँकेको नेपालगन्जमा कपास उत्पादन कारखाना पनि सँगसँगै सञ्चालनमा ल्याइएको थियो। हेटौँडा कपडा उद्योग बन्द भएपछि ती दुई उद्योग पनि बन्द हुन पुगेका थिए। कपडा उद्योग पुनः तत्कालै सञ्चालन गर्न सकिने अवस्थामा रहेको बताउँदै उनले त्यहाँ रहेका उपकरणहरू सामान्य मर्मत गरेपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको जानकारी दिए।
हेटौँडा कपडा उद्योगको पुनः सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विशेष अग्रसरता लिएको छ। यसैबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योगको स्थलगत अनुगमन गरेकी छन्। त्यस्तै हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पनि स्थलगत निरीक्षण गरी वस्तुस्थितिबारे जानकारी लिएको छ।
मन्त्री यादवले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा सरकारले हेटौँडा कपडा उद्योग यसै वर्षबाट सञ्चालनमा ल्याउने तयारी गरेको बताएकी थिइन्। देशका रुग्ण उद्योगहरूमध्ये हेटौँडा कपडा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउने दाबी गर्दै उनले कपडा उद्योगका लागि आवश्यक पर्ने बुटवल धागो र कपासखेती पनि यसै वर्ष सञ्चालनमा ल्याइने जानकारी गराएकी थिइन्।
कपडा उद्योग बन्द भएपछि उक्त उद्योग परिसरमा विसं २०७५ सालदेखि सशस्त्र प्रहरी बलको १४ नम्बर गण बस्दै आएको छ। सशस्त्र प्रहरी बस्नुअघि त्यहाँको सुुरक्षाका लागि मात्र दुई जना कर्मचारी खटिएका थिए। पहिले सो क्षेत्र लागुऔषध प्रयोग गर्ने दुव्र्यसनीहरूको अखडा बनेको भए पनि सशस्त्र प्रहरी बसेपछि अहिले उद्योग पूर्ण रूपमा सुरक्षित रहेको छ। सरकारी चासो बढेसँगै हाल उद्योग परिसरमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले संयुक्त रूपमा सरसफाइसमेत गरेका छन्। रासस


