सुर्खेत, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल सुर्खेतबाट पक्राउ परेका छन्। एमालेको पार्टी कामको सिलसिलामा सुर्खेत पुगेका पौडेललाई वीरेन्द्रनगरस्थित ‘होटल शुभ’ बाट प्रहरीले नियन्त्रणमा लिएको हो।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) को कसुरमा अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण निवारण विभागको पत्रका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले पुष्टि गरेको छ।
प्रहरीका अनुसार, विवादास्पद बिचौलिया दीपक भट्टसँग मिलेर करिब ३० करोड रुपैयाँ बराबरको शंकास्पद सेयर कारोबार गरेको र अवैध सम्पत्ति लुकाएको अभियोग पौडेलमाथि छ।
उनी पक्राउ परेलगत्तै काठमाडौंको भैंसेपाटीस्थित उनको निवासमा समेत विभागको टोलीले छापा मारेको समाचार प्राप्त भएको छ।
यसैबीच, एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीलाई लिएर राजनीतिक वृत्त तातिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले यस कदमलाई सरकारको ‘नाङ्गो राजनीतिक प्रतिशोध’ र ‘अपहरण शैली’ को संज्ञा दिएका छन् । एमालेले यस गिरफ्तारीको घोर भर्त्सना गर्दै तत्काल रिहा नगरे देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
पक्राउ परेका पौडेललाई आवश्यक अनुसन्धान र कारबाहीका लागि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।


