मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ।

समितिले आज विज्ञप्ति जारी गर्दै यस वर्ष मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, गेग्रान तथा बाढीका कारण सुरुङभित्र माटो, ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढेकाले मनसुन अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागिएको जानकारी दिएको छ।

समितिका सूचना अधिकृत मधु तिमल्सेनाले नदीमा पानीको धमिलोपन पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी हुने अवस्था सृजना हुनसक्ने भएकाले सुरुङको सुरक्षालाई ध्यानमा राखी पानी पथान्तरण रोकिएको जानकारी दिए।

तिमल्सेनाका अनुसार हाल वैकल्पिक प्रणालीमार्फत पानी पथान्तरण भइरहेको र अत्यधिक वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत चार वर्षदेखि सुरूङको सफाइ, मर्मत र निरीक्षण पनि नभएको हुँदा सो अवधिमा यी कार्यहरू पनि सम्पन्न गर्न केही अवधिका लागि सुरूङ बन्द गर्नुपरेको हो। रासस





Comments

comments

139540