नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। कोलोराडोबासी नेपाली भाषी समुदायको आस्थाको केन्द्र सांस्कृतिक केन्द्र नेपाली घरमा नेवारी संस्कृति परम्परा अनुसार चौथो मुना इही सम्पन्न भएको छ।
नेवाःखलः कोलोराडोको आयोजनामा खलःका कार्यसमिति, स्वयंसेवक र इहीमा संलग्न कन्याहरूका परिवारहरूको समुपस्थितिमा चौथो इही संस्कार विधिपूर्वक सम्पन्न गरिएको हो।
गुरु बीरेन्द्र राजोपाध्याय तथा गुरुमाता प्रतिभा शर्माद्वारा सुसम्पन्न भएको कार्यक्रममा स्थानीय नेवाः कन्याहरू जोया श्रेष्ठ वान्तवा, प्रनेहा श्रेष्ठ, गुराँस श्रेष्ठ यस संस्कारबाट लाभान्वित भएका छन्। नेवाःखलः कोलोराडोका अध्यक्ष भूषणलाल श्रेष्ठले बताएका छन्।
नेवारी सनातन धर्मग्रन्थ अनुसार, रजस्वला भइसकेको कन्यालाई कन्यादान गर्न नमिल्ने भएकाले बाल्यावस्थामा नै भगवान् श्री सुवर्णकुमारलाई कन्यादान गरिने यो संस्कार नेवाः धर्म संस्कृति अनुसार महत्वपूर्ण मानिएको छ।
नेवार समुदायका कन्याहरूको बाल्यावस्थामा नै भगवान् सुवर्णकुमारसँग वैदिक तन्त्र मन्त्रको माध्यमबाट परम्परा अनुसार इही संस्कार सम्पन्न भइसकेपछि कहिल्यै पनि विधवा नहुने शास्त्रीय मान्यता छ।
नेवारी महिलाहरूले सौभाग्यका लागि व्रत बसी कामना गर्नुपर्ने आवश्यकता धर्मशास्त्रले देखाएको छैन। यसै कारणले सनातन हिन्दू नै भए तापनि केही नेवारी महिलाहरूले तीजको व्रत लिने गरेका छैनन्।
कोलोराडोमा नेवाः समुदायको जनघनत्व बढेसँगै १६ वर्षअघि विधिवत् स्थापित नेवाःखलःले नेवारी भाषा र नेवारी संस्कृति, संरक्षण र पहिचान मार्फत नयाँ पुस्तालाई सुसूचित गराउँदै आएको छ।


