नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। कोलोराडोमा सक्रिय नेपाली भाषी समुदायको जेठो संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालको २५ औं साधारणसभा सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी हरि गुरुङलाई प्रदान गर्दै सम्पन्न भएको छ।
नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आइतबार बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालित कार्यक्रममा संस्थाको अध्यक्ष आकृती राईले राजीनामा दिएपछि कार्यवाहक अध्यक्ष चलाउँदै आएका संस्थाका उपाध्यक्ष हरि गुरुङलाई संस्थाको विधानअनुसार बाँकी अवधिका लागि अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो।
साधारणसभामा निर्वतमान अध्यक्ष अर्जुन बगालेले कार्यक्रममा उपस्थित अतिथि, प्रमुख अतिथिलाई स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए। त्यसैगरी संस्थाका कार्यवाहक अध्यक्ष तथा कार्यक्रमका सभापति हरि गुरुङले सभासमक्ष संस्थाको प्रगति विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुनीता अधिकारीले आयव्ययको विवरण पेश गरेकी थिइन्। सभामा उपस्थित सदस्यहरूले सर्वसम्मत तरिकाबाट दुवै प्रतिवेदन पास गरेका थिए।
हेल्पिङ ह्यान्डका अध्यक्ष समाजसेवी नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा पूर्व प्राध्यापक तथा समाजसेवी डा. विजयराज शर्मा, संस्थाको अम्बुड्स कमिटीका संयोजक रोहिणी शर्माको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिहरूले संस्थाको नयाँ अध्यक्ष गुरुङलाई खादा लगाइ सम्मान गरेका थिए।
यसैगरी सोही समारोहमा हालै सम्पन्न निर्वाचनबाट सर्वसम्मत तरिकाबाट निर्वाचित नेपाली घरका अध्यक्ष गंगा चौलागाईलाई रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका तर्फबाट पुष्पगुच्छा प्रदान गरी खादा लगाइ कार्यकालको सफलताको शुभकामना प्रदान गरिएको थियो। नेपाली भाषी समुदायका मुख्य दुई संस्थाका अध्यक्षहरूबीच एक आपसमा शुभकामना आदानप्रदान भइरहँदा सहभागीहरूले ताली बजाएर खुशी व्यक्त गरेका थिए।
कार्यक्रममा कोलोराडोमा सक्रिय संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, संस्थाका सल्लाहकार, पदाधिकारीहरू, गन्यमान्य, पत्रकार तथा संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरूले संस्थाले सभासमक्ष पेश गरेको भावी कार्यक्रम, आर्थिक प्रतिवेदन, प्रगति प्रतिवेदन तथा विधान संशोधनका विषयमा विभिन्न सल्लाह र सुझाव दिएका थिए। जसमा सबै संघसंस्थासँग हातेमालो गर्दै अगाडि बढ्न, दोस्रो पुस्तालाई लक्षित कार्यक्रम अघि बढाउन, डाटा संकलन, कोलोराडोमा बसोबास गर्न आएका नयाँ नेपाली भाषीहरूलाई सहयोग र सुझावका लागि संयन्त्र निर्माण गर्न सुझाव दिएका थिए।
त्यसैगरी संस्थाको विधान संशोधनका लागि निर्वतमान अध्यक्ष अर्जुन बगालेको संयोजकत्वमा गठित ५ सदस्यीय विधान संशोधन समितिलाई पनि विभिन्न सुझावहरू दिएका थिए। कार्यक्रम संस्थाका युवा संयोजक विष्णु विवेकले सञ्चालन गरेका थिए।
संस्थाले कोलोराडोमा नेपाली भाषा संस्कृति संरक्षणका लागि दशैं, नयाँ वर्षलगायत विभिन्न चाडपर्वहरूमा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। त्यसै गरी संस्थाले नेपाल र नेपालीको पहिचानका लागि नेपाली परेड, समर पिकनिकलगायतका कार्यक्रम आयोजना गर्ने, नेपाली समुदायको हकहितका लागि स्थानीय सरकारसँग समन्वय गर्ने, नेपाली समुदायका सदस्यहरूलाई सहयोग आवश्यक परेमा अन्य संघसंस्थाहरूसँग हातेमालो गर्दै सहयोग जुटाउने जस्ता कार्यक्रम गर्दै आएको छ।


