हङकङका सबै कन्स्ट्रक्सन साइटमा धूम्रपान निषेध!

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १७ जुलाई । हङकङका सबै निर्माण क्षेत्र (कन्स्ट्रक्सन साइट) भित्र अब धुम्रपान गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइने भएको छ। हङकङको व्यवस्थापिका परिषद् (LegCo) ले यस सम्बन्धी नयाँ विधेयक पारित गरेको छ। यो कानुन आज शुक्रबारदेखि आधिकारिक रूपमा लागू हुँदैछ।

नयाँ कानुन अनुसार निर्माण स्थलभित्र चुरोट, ई–चुरोट वा भेप पिउने जुनसुकै कामदारलाई सिधै ३,००० हङकङ डलर निश्चित जरिवाना गरिनेछ।

कामदारलाई मात्र नभई आफ्नो साइटभित्र धुम्रपान रोक्न असफल हुने मुख्य कन्ट्र्याक्टर र सब-कन्ट्र्याक्टरहरूलाई समेत कडा कारबाहीको दायरामा ल्याइने भएको छ। आफ्नो कार्यस्थलमा नियम पालना गराउन नसकेमा कन्ट्र्याक्टरहरूलाई अधिकतम ४,००,००० हङकङ डलरसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।

श्रम तथा कल्याण मन्त्री क्रिस सनका अनुसार यो नियमलाई कडाइका साथ लागू गर्न श्रम विभागका अधिकारीहरूले कुनै पनि समयमा छड्के अनुगमन गर्नेछन्। अनुगमनका क्रममा प्रत्यक्ष फेला नपरे पनि कसैले नियम मिचेको फोटो वा भिडियो प्रमाण फेला परेमा सोही आधारमा कानुनी कारबाही गरिनेछ। सरकारले यो कानुन लागू गर्नका लागि कुनै पनि प्रकारको चेतावनी अवधि वा छुट नदिइने स्पष्ट पारेको छ।

किन चालियो यस्तो कडा कदम?
गत वर्ष ताई पोस्थित वाङ फुक कोर्टमा भएको एउटा भयानक आगलागीको घटनापछि सरकारले यो कडा कदम चालेको हो। सरकारी अनुसन्धानका क्रममा उक्त आगलागी निर्माण स्थलमा कामदारले लापरवाहीपूर्वक फालेको चुरोटको बलिरहेको ठूटोका कारण सुरु भएको र जसले गर्दा १६८ जनाको ज्यान गएको पुष्टि भएको थियो।

आगलागीको यस्तो गम्भीर जोखिमलाई मध्यनजर गर्दै निर्माण क्षेत्रभित्र छुट्टै धुम्रपान गर्ने ठाउँ (Smoking Zone) बनाउन दिने उद्योगीहरूको मागलाई समेत सरकारले पूर्ण रूपमा अस्वीकार गरिदिएको छ।

अबदेखि साइटभित्र सामान डेलिभरी गर्न आउने चालक वा अन्य आगन्तुकसहित त्यहाँ प्रवेश गर्ने हरेक व्यक्तिको सुरक्षा र व्यवहारको पूर्ण कानुनी जिम्मेवारी मुख्य कन्ट्र्याक्टरकै हुनेछ।





Comments

comments

139756