ग्लोबल नेपाली फिल्म अवार्डको नवौं संस्करण अष्ट्रेलियाको सिड्नीमा आयोजना हुँदै

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। ग्लोबल नेपाली फिल्म अवार्डको नवौं संस्करण अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको छ।

यस अगाडीका ८ संस्करणहरू अमेरिकाको कोलोराडो, सान फ्रान्सिस्को र न्यूयोर्क जस्ता शहरमा सफलतापूर्वक सम्पन्न भइसकेका अवार्डको नवौं संस्करण अष्ट्रेलियाको सिड्नीमा आयोजना हुन लागेको हो।

नेपाली चलचित्रको विकासक्रम केवल मनोरञ्जनको इतिहास होइन, यो नेपाली समाज, संस्कृति, भाषा, पहिचान र समयको परिवर्तनको दस्तावेज पनि हो। एक समय गाउँघरका खुला चौरमा पर्दा टाँगेर चलचित्र देखाइने अवस्थादेखि आज विश्वका प्रतिष्ठित शहरहरूमा नेपाली चलचित्रलाई सम्मानित गर्ने तहसम्मको यात्रा नेपाली सिनेमाको उल्लेखनीय उपलब्धि हो।

यही ऐतिहासिक यात्रालाई थप उचाइ दिने उद्देश्यसहित नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६ आगामी डिसेम्बर १७, २०२६ मा अष्ट्रेलियाको सिड्नी टाउन हलमा आयोजना हुने ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए अध्यक्ष तथा नायक नवराज श्रेष्ठले बताएका छन्।

कार्यक्रम Bhara Entertainment, Global Nepali Film Awards LLC USA र Nepal Film Society को संयुक्त आयोजनामा सम्पन्न हुनेछ। विशेषतः यो अवार्ड पहिलो पटक अमेरिकाबाहिर आयोजना हुन लागेको हो, जसलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय विस्तारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

“Nepali Cinema: Village to Globe” भन्ने नाराले नेपाली सिनेमाको समग्र विकासयात्रालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ। नेपाली चलचित्रले ग्रामीण जीवनका कथा, लोकसंस्कृति र सामाजिक यथार्थबाट सुरु गरेको यात्रा आज अन्तर्राष्ट्रिय फिल्म महोत्सव, विश्वव्यापी प्रदर्शन र प्रवासी नेपाली समुदायसम्म विस्तार भइसकेको छ।

नेपाली चलचित्र उद्योगले विगत केही वर्षयता अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा उल्लेखनीय उपस्थिति जनाउँदै आएको छ। नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (NIFF) जस्ता मञ्चहरूले विश्वका दर्जनौं देशका चलचित्रसँग नेपाली सिनेमालाई एउटै प्रतिस्पर्धात्मक वातावरणमा उभ्याएका छन्।

यसपटकको अवार्ड केवल सम्मान वितरणमा सीमित छैन। यसको सबैभन्दा ठूलो विशेषता भनेको अमेरिकाबाहिर पहिलो पटक अष्ट्रेलियामा आयोजना हुनु हो। अष्ट्रेलिया नेपाली डायस्पोराको तीव्र रूपमा विस्तार भइरहेको केन्द्र बनेको कारण सिड्नीलाई रोजिएको श्रेष्ठले बताएका छन्।

विश्वव्यापी अवार्ड समारोहले नेपाली चलचित्रलाई विदेशी निर्माता, वितरक र अन्तर्राष्ट्रिय दर्शकसँग जोड्ने अवसर सिर्जना गर्छ। चलचित्र केवल पुरस्कारका लागि होइन, नयाँ सहकार्य, लगानी, प्रविधि आदान–प्रदान र विश्व बजार विस्तारको माध्यम पनि बन्न सक्छ। विश्वका प्रतिष्ठित फिल्म महोत्सवहरूले दशकौँदेखि यही भूमिका निर्वाह गर्दै आएका छन्। यस्ता मञ्चहरूले नयाँ प्रतिभा, नवीन कथा र सांस्कृतिक विविधतालाई विश्वसामु पुर्‍याउने काम गरेका छन्।

नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६ नेपाली सिनेमाको इतिहासमा अर्को कोशेढुङ्गा बन्ने सम्भावना बोकेको छ । गाउँदेखि विश्व बजार सम्म भन्ने अवधारणालाई व्यवहारमा उतार्ने प्रयासका रूपमा यसले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने नयाँ ढोका खोल्न सक्छ।

सिड्नीको ऐतिहासिक मञ्चमा आयोजना हुने यो समारोह केवल कलाकारहरूको सम्मान मात्र सीमित नभई विश्वभर छरिएका नेपालीहरूको साझा सांस्कृतिक उत्सव बन्न सकोस् । यदि यसले गुणस्तर, निष्पक्षता र अन्तर्राष्ट्रिय स्तरलाई निरन्तरता दिन सक्यो भने आगामी वर्षहरूमा ग्लोबल नेपाली फिल्म अवार्ड नेपाली चलचित्र उद्योगको प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित हुनपनि सक्छ।





Comments

comments

140067