💐 भावपूर्ण श्रद्धाञ्जली 💐
गुरुङ समुदायबाट सबैभन्दा बढी १० पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी पर्वतारोही एवं अन्तर्राष्ट्रिय माउन्टेन गाइड पुरबहादुर गुरुङ (युक्त तमु) को पाकिस्तानको ब्रड पिक हिमालमा गएको विनाशकारी हिमपहिरोमा परी भएको असामयिक निधनको खबरले अत्यन्तै स्तब्ध बनाएको छ।
आफ्नो अद्भुत साहसले देश र पर्वतारोहण क्षेत्रको शिर उच्च बनाउने एक सच्चा वीरलाई हामीले गुमाएका छौँ। दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन र आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ।
अलविदा हिमालका नायक, तिम्रो साहस सधैँ अमर रहनेछ! 🙏
अलविदा हिमालका नायक पुरबहादुर गुरुङ!
काठमाडौं, कीर्तिमानी नेपाली पर्वतारोही पुरबहादुर गुरुङ ‘युक्त’ (युक्त तमु) को पाकिस्तानको ब्रड पिक हिमालमा निधन भएको छ।
हिमालको फेदबाट उनको शव बरामद गरेर उद्धार टोलीले मृत्युको आधिकारिक पुष्टि गरेको हो।
मृतक पुरबहादुर गुरुङ गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर ७, लापुका स्थायी बासिन्दा हुन्। निधन हुँदा उनी ३७ वर्षका थिए।
उनले आफ्नो जीवनका झन्डै तीन दशक हिमाल आरोहण र हिमाली पर्यटनमा समर्पित गरेका थिए। उनी गुरुङ समुदायकै गौरव र एक अब्बल नायक थिए। उनले आफ्नो समुदायबाट विश्वको सर्वोच्च शिखर सगरमाथा सबैभन्दा बढी अर्थात् १० पटक सफलतापूर्वक आरोहण गरेर रेकर्ड बनाएका थिए। उनी गुरुङ समुदायबाट सबैभन्दा धेरै पटक सगरमाथा चुम्ने कीर्तिमानी पर्वतारोही हुन्।
उनी अन्तर्राष्ट्रिय माउन्टेन गाइड (IFMGA) पनि थिए। उनले गत डिसेम्बरमा मात्रै नेपाल राष्ट्रिय पर्वतारोहण गाइड संघ (NNMGA) मार्फत यो प्रतिष्ठित प्रमाणपत्र पाएका थिए। उनले विश्वका १२ वटा ८,००० मिटरभन्दा अग्ला हिमालहरू चढिसकेका थिए।
उनले पाकिस्तानकै के२ (K2) हिमाल २४ घण्टाभित्रै चढेर अद्भूत कीर्तिमान बनाएका थिए। उनी हिमालमा संकटमा परेका आरोहीहरूको उद्धार कार्यमा सधैँ अग्रपंक्तिमा खटिन्थे।
सन् १९२४ मा सगरमाथामा बेपत्ता भएका बेलायती आरोही एन्ड्रु इर्भिनको शताब्दी पुरानो जुत्ता फेला पार्ने ऐतिहासिक खोज टोलीमा पनि उनी सक्रिय रूपमा सहभागी थिए। ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल चढ्ने लक्ष्यका साथ उनी तीन हप्ताअघि ब्रड पिक प्रस्थान गरेका थिए। तर हिमाललाई नै आफ्नो संसार बनाएका युक्तको हिउँमै दुःखद अन्त्य भयो।
उद्धार टोलीले गुरुङको शवसँगै ओमानकी प्रख्यात महिला आरोही नाधिरा अल हार्थीको पनि शव फेला पारेको छ। उक्त क्षेत्रबाट हालसम्म कुल चार वटा शवहरू बाहिर निकालिएको छ।
तीव्र वेगको हिमपहिरोले उनीहरूलाई क्याम्प ३ बाट बगाएको थियो। पहिरोले बगाएर उनीहरूलाई सिधै हिमालको फेद अर्थात् बेस क्याम्प नजिक पुर्याएको थियो।
काराकोरम एक्सपेडिसनको ग्राउन्ड टोलीले अहिले ती शवहरूलाई ब्रड पिक बेस क्याम्पतर्फ ल्याइरहेको छ। बाँकी दुई शवको पहिचान खुलाउने प्रयास भइरहेको छ।
यसैबीच विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) सहित ६ जना आरोहीहरू अझै पनि बेपत्ता छन्। हिमालको उच्च क्षेत्रमा रात परेको, अत्यधिक चिसो र खराब मौसम भएकाले हवाई खोजी कार्य आजका लागि स्थगित गरिएको छ। निर्मल पुर्जासहित बाँकी ६ जना बेपत्ता आरोहीहरूको खोजी कार्य भोलि बिहानै मौसम सफा हुनासाथ पुनः सुरु गरिनेछ।


