कोलोराडोमा समर पिकनिक सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। कोलोराडोमा रहेका नेपालीभाषीहरू बीच भेटघाट र एकआपसमा समन्वय तथा सद्भाव बढाउने उद्देश्यले आयोजना गरिएको समर पिकनिक विभिन्न कार्यक्रमसँगै आइतबार सम्पन्न भयो।

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा नर्थग्लेन स्थित रमणीय पार्कमा आइतबार दिउँसो ३ बजेदेखि ८ बजेसम्म आयोजित पिकनिक कार्यक्रममा कोलोराडोमा सक्रिय संघसंस्थाका पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, साना बालबालिका, कलाकार, व्यवसायी, पत्रकार, गण्यमान्य तथा नेपालीभाषी बाआमा, दाजुभाइ, दिदीबहिनीहरूको उपस्थिति रहेको थियो।

त्यस्तैगरी पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सबैलाई सक्रिय सहभागिता गराउन बालबालिकाहरूका लागि कोक, फेन्टा, स्प्राइट खेल, सहभागी सबैका लागि क्विज, बिङ्गो, राफल चिट्ठा लगायतका विभिन्न खेल खेलिएको थियो। खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विजयी प्रतियोगीहरूलाई आयोजक संस्थाका अध्यक्ष हरि गुरुङ लगायतका पदाधिकारीहरूले नगद तथा आइप्याड पुरस्कार प्रदान गरी सम्मान गरेका थिए।

बालबालिका, वृद्ध, वृद्धा, युवायुवती सबै उमेरका व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रममा केहीले नेपालीको पहिचान लगाएर आएका थिए। ठूलो तालको नजिक रमणीय पार्कमा आयोजित कार्यक्रममा उपस्थित केही डुङ्गामा बसी तालको परिक्रमा गर्दै मनोरञ्जन लिएका थिए।

पिकनिकमा वितरित केही खाना स्थानीय केही रेस्टुरेन्टहरूले सौजन्य रूपमा उपलब्ध गराएका थिए भने केही परिकारहरू संस्थाका कार्यसमितिका पदाधिकारीहरूले घरघरमा तयार पारी ल्याएर वितरण गरेका थिए।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष हरि गुरुङले उपस्थित सबैलाई स्वागत गर्दै यहाँ बसोबास गर्दै आएका नेपालीभाषी दाजुभाइ दिदीबहिनीहरूलाई मनोरञ्जनका साथै एकता, सद्भाव र एकआपसमा सहयोगको भावना विकास गर्न पिकनिक आयोजना गरिएको भन्दै उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।

त्यसैगरी हेल्पिङ हेण्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठले नेपालीभाषी समुदायलाई एकताबद्ध गर्न धेरै वर्ष अगाडिदेखि सुरु गरिएको कार्यक्रमलाई निरन्तरता दिइरहेकोमा संस्थालाई धन्यवाद दिएका थिए। कार्यक्रम रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका सांस्कृतिक सचिव रेखा देउरालीले सञ्चालन गरेकी थिइन्।





Comments

comments

140135