काठमाडौँ, गोकर्णस्थित बागमती करिडोर सडक विस्तारका क्रममा नेपाली सेनाको टोलीसँग विवादमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेलाई प्रधानमन्त्रीको सचिवालयले सचेत गराएको छ।
सार्वजनिक विकासका काममा सुरक्षा निकायसँग समन्वय गर्दा जिम्मेवार बन्न र प्रधानमन्त्रीको नाम दुरुपयोग नगर्न सचिवालयले उनलाई सचेत गराएको हो।
बागमती करिडोर क्षेत्रमा रहेको सैनिक विपद् व्यवस्थापन तालिम केन्द्रको पर्खाल भत्काउने विषयलाई लिएर सांसद पाण्डे र सैनिक अधिकारीहरूबीच तीव्र भनाभन भएको थियो। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएपछि यो विषय राजनीतिक र सुरक्षा वृत्तमा निकै तातिएको थियो।
भिडियो सार्वजनिक भएसँगै प्रधानसेनापति अशोकराज सिग्देलले प्रधानमन्त्रीसँग सिंहदरबारमा आकस्मिक भेट गरी राष्ट्रिय सुरक्षा संवेदनशीलता र जनप्रतिनिधिबाट सैनिक जवानमाथि भएको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका थिए।
सेना प्रमुखको चासोलगत्तै प्रधानमन्त्रीको सचिवालयले सांसद पाण्डेलाई बोलाएर सुरक्षा संयन्त्रसँग संवाद गर्दा संयमता अपनाउन र पदीय मर्यादा कायम राख्न निर्देशन दिएको बुझिएको छ।
विवादले उग्र रूप लिएपछि सांसद पाण्डेले एक वक्तव्य जारी गर्दै नेपाली सेनाप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गरेका छन्। सुरुवाती चरणमा प्राविधिक समन्वयमा केही मिनेट ढिलाइ हुँदा सामान्य भनाभन भए पनि पछि सेनाकै पूर्ण सहयोगमा सडक विस्तारको काम अघि बढेको भन्दै उनले घटनालाई अतिरञ्जित नगर्न आग्रह गरेका छन्।


