युवा उद्यमी तयार पार्न स्टार्टअप अभियान सुरु

काठमाडौँ । नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र र रोजगारी सृजनाको संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘स्टार्टअप समिट नेपाल–२०२६’ अभियानको औपचारिक शुभारम्भ गरिएको छ।

‘राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका’ भन्ने मूल नाराका साथ त्रिभुवन विश्वविद्यालयमा विशेष कार्यक्रमका साथ अभियानको शुभारम्भ गरिएको हो । आयोजकका अनुसार विकसित मुलुकमा आर्थिक समृद्धिको आधार नवप्रवर्तन, अनुसन्धान, प्रविधि र स्टार्टअप भएकाले नेपालमा पनि त्यसैअनुरूप उद्यमशील संस्कृतिको विकास गर्ने लक्ष्यसहित अभियान सुरु गरिएको हो।

अभियानले बढ्दो प्रतिभा पलायनलाई रोकेर युवाको ज्ञान, सीप, क्षमता र सिर्जनशीलतालाई स्वदेशमै उपयोग गर्ने उद्देश्य राखेको छ । अभियानले विद्यार्थी, युवा, उद्यमी तथा व्यवसाय गर्न इच्छुक व्यक्तिलाई स्टार्टअप, व्यवसाय दर्ता प्रक्रिया, व्यवसाय योजना निर्माण, स्टार्टअप कर्जा, लगानी व्यवस्थापन, बजार विस्तार, व्यवसाय सञ्चालनका चुनौती, जोखिम व्यवस्थापन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारका सम्भावनाबारे व्यावहारिक जानकारी प्रदान गर्नेछ।

कार्यक्रमको पहिलो चरण त्रिभुवन विश्वविद्यालयबाट सुरु गरिएको आयोजकले जनाएको छ । आगामी दिनमा काठमाडौँ विश्वविद्यालयसहित देशका अन्य विश्वविद्यालय, कलेज, विद्यालय तथा सातै प्रदेशमा यस्ता कार्यक्रम सञ्चालन गरिनेछ।

यस अभियानमार्फत सरकार, विश्वविद्यालय, निजी क्षेत्र, बैङ्क तथा वित्तीय संस्था, उद्योगी–व्यवसायी, लगानीकर्ता र युवाबिच सहकार्यको वातावरण निर्माण गरी नेपालमा सशक्त स्टार्टअप इकोसिस्टम विकास गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका विभिन्न सङ्कायमा अध्ययनरत विद्यार्थी प्राध्यापक, कर्मचारी, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिसहित करिब २०० जनाको सहभागिता थियो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले विश्वविद्यालय शिक्षालाई रोजगारीमुखीमात्र नभई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताए । उनले नेपाललाई समृद्ध बनाउने अभियानमा स्टार्टअपको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै यस्ता कार्यक्रम देशभर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले विश्वविद्यालय विद्यार्थीलाई सिर्जनशील, अनुसन्धानमुखी र उद्यमशील बनाउन आवश्यक सहयोग गर्न विश्वविद्यालय सधैँ तयार रहेको बताउनुभयो । स्टार्टअप समिट नेपाल–२०२६ की अध्यक्ष शोभा ज्ञवालीले नेपालमा बढ्दो युवा पलायनलाई अवसरमा रूपान्तरण गर्न सबै सरोकारवाला एकजुट हुनुपर्ने बताए।

उनले नेपालमा प्रतिभा, सम्भावना र सिर्जनशीलताको कमी नरहेको उल्लेख गर्दै सही सोच, उचित मार्गदर्शन र अवसर उपलब्ध गराउन सके युवाले स्वदेशमै अवसर सृजना गर्न सक्ने विश्वास व्यक्त गरे।

उनले अभियान आजदेखि औपचारिक रूपमा सुरु भएको जानकारी दिँदै आगामी दिनमा सातै प्रदेश र ७७ जिल्लामा पुगेर स्टार्टअप, नवप्रवर्तन, व्यवसाय सञ्चालन, विश्वबजारका अनुभव, सफल उद्यमीका कथा, लगानीका अवसर तथा सरकारी नीतिबारे व्यावहारिक प्रशिक्षण प्रदान गरिने बताए । साथै अभियानमा सहभागिताका लागि युवा, शैक्षिक संस्था, सरकारी निकाय तथा निजी क्षेत्रलाई सहकार्यका लागि आग्रह गरे ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका निवर्तमान कार्यकारी निर्देशक इन्जिनियर उमेशकुमार रौनियारले सफल व्यवसायका लागि ठुलो पुँजीभन्दा सही सोच, इच्छाशक्ति र निरन्तर मिहिनेत आवश्यक हुने बताए।

उनले कम्पनी दर्तादेखि व्यवसाय सञ्चालन, कानुनी प्रक्रिया, बजार अध्ययन, लगानी व्यवस्थापन तथा स्टार्टअप कर्जासम्मका विषयमा प्रस्तुति दिँदै विद्यार्थी जीवनमै सीप, अनुभव र आत्मविश्वास विकास गर्न सके सफल उद्यमी बन्न सहज हुने धारणा राखे।

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागका प्राध्यापक डा भारत थापाले शैक्षिक संस्थामा यस्ता कार्यक्रम आवश्यक रहेको बताउँदै भविष्यमा पनि विश्वविद्यालयले यस्ता कार्यक्रम सञ्चालनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सफल नेपाली स्टार्टअप उद्यमीको सहभागिता रहेको थियो । साथै वैदेशिक रोजगारीबाट नेपाल फर्किएर स्टार्टअप कर्जाको उपयोग गरी सफल व्यवसाय स्थापना गरेका नेपाली उद्यमीको प्रेरणादायी वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । वृत्तचित्रले सहभागी विद्यार्थी तथा युवामा उत्साह र आत्मविश्वास बढाएको आयोजकले जनाएको छ।

प्रश्नोत्तर सत्रमा सहभागी विद्यार्थीले स्टार्टअप, उद्यमशीलता, लगानी, व्यवसाय सञ्चालन, बजार विस्तार तथा सरकारी नीतिसम्बन्धी जिज्ञासा राखेका थिए । उपस्थित वक्ताले ती जिज्ञासाको जवाफ दिँदै व्यावहारिक सुझाव र मार्गदर्शन प्रदान गरेका थिए।

आयोजकका अनुसार स्टार्टअप समिट नेपाल–२०२६ एक दिने कार्यक्रम मात्र नभई नेपालमा नवप्रवर्तन, उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकास गर्ने दीर्घकालीन राष्ट्रिय अभियान हो।

अभियानमार्फत देशभरका विश्वविद्यालय, कलेज, विद्यालय, उद्योग, वित्तीय संस्था, सरकारी निकाय तथा निजी क्षेत्रसँग सहकार्य गर्दै युवालाई आत्मनिर्भर, उत्पादनमुखी र रोजगारी सृजना गर्ने नेतृत्वका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रमको आयोजना स्टार्टअप समिट नेपाल–२०२६ र नीति रिसर्चले त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागको सहकार्यमा गरेको हो । त्यस अवसरमा नेपालमा नवप्रवर्तनमा आधारित आर्थिक विकासलाई देशव्यापी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। रासस





Comments

comments

140171