लेबनानी अधिकारीहरूले शनिबार एक पूर्व सिरियाली सैनिक अधिकारीलाई हिरासतमा लिएका छन्। दमास्कसले ती पूर्व सैनिक अधिकारीलाई ‘हत्या र मानवताविरुद्धका अपराध’ को आरोपमा गिरफ्तारीका लागि सूचना जारी गरेको न्यायिक अधिकारीले जानकारी दिएका छन्।
नाम उल्लेख नगर्ने सर्तमा ती लेबनानी सुरक्षा अधिकारीले भने, ‘असद शासनका बेला सिरियाली सेनाको १७औं ब्रिगेडमा रहेका ६७ वर्षीय पूर्व अधिकारी आदेल इसाले शुक्रबार कागजातका लागि बेरुतस्थित आफ्नो देशको दूतावासमा गएका समय ती पूर्व सैन्य अधिकारीलाई पक्राउ गरिएको हो।’
दूतावासका कर्मचारीहरूले उहाँको नाममा दमास्कसबाट गैर हाजिरमा जारी गरिएको गिरफ्तारी वारन्टबारे थाहा पाएपछि लेबनानी अधिकारीहरूलाई उनलाई हिरासतमा लिन आग्रह गरेका थिए । उनलाई सिरियाली सेनामा रहँदा ‘हत्या र मानवताविरुद्धका अपराध’ गरेको आरोप उहाँलाई दिइएको पक्राउ पूर्जीमा उल्लेख गरिएको थियो।
उनी अहिले पनि लेबनानी हिरासतमा छन्। लेबनानका सार्वजनिक अभियोजकले आफ्ना सिरियाली समकक्षलाई शङ्कास्पद व्यक्तिको प्रत्यर्पण फाइल पठाउन भनेका छन्। त्यसपछि मात्र बेरुतले उनलाई हस्तान्तरण गर्ने कि नगर्ने निर्णय गर्नेछ।
असदको सन् २०२४ डिसेम्बरमा पतनपछि सिरियाली अधिकारीहरूले १३ वर्षे गृहयुद्धका क्रममा अपराध गरेको आरोप लागेका दर्जनौं व्यक्तिहरूलाई गिरफ्तार गरेका छन् । उनीहरूविद्ध अप्रिलदेखि मुद्दा चल्न थालेको छ।
असदको पतन र उहाँको प्रमुख सहयोगी लेबनानी लडाकु समूह हिजबुल्लाह कमजोर भएपछि लेबनान र सिरियाले आपसी सम्बन्धमा नयाँ अध्याय सुरु गर्ने दृढ सङ्कल्प व्यक्त गरेका छन्। असद परिवारको शासनकालमा सिरियाले दशकौँसम्म छिमेकी देशमाथि प्रभाव कायम राखेको थियो र त्यहाँ धेरै हत्याकाण्डहरू गरेको आरोप लाग्दै आएको थियो। रासस
सन् २०२४ यता दुवै देशका अधिकारीहरूले सुरक्षा लगायतका विभिन्न मुद्दामा सहकार्य गर्ने सहमति जनाउँदै धेरै पटक भेटघाट गरेका छन्। रासस


