पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

सन्दर्भ तस्बिर

बाजुरा । गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

बिहीबार दिउँसो अविरल वर्षासँगै खसेको पहिरोले ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको तीनतले घर पूर्ण रूपमा क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशबहादुर शाहीका अनुसार दुवै घरभित्रका सामान पुरिएका छन् । आसपासका क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई अस्थायी टहरामा सारिएको छ । पुरिएका सामग्री निकाल्ने प्रयास पनि जारी छ।

यसैबीच, गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्न पालिकाबाट टोली परिचालन भएको जानकारी दिँदै उनीहरूको सहयोगमा जुट्न स्थानीय सामाजिक सङ्घसंस्थालाई आह्वान गर्नुभएको छ। रासस





Comments

comments

140393