न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २३ अगष्ट । संयुक्त अधिराज्य (युके) को ग्रेटर म्यानचेस्टर, साल्फोर्डस्थित फ्रेडरिक रोडमा रहेको एउटा अपार्टमेन्टभित्र २५ वर्षीय ल्युङ ट्सुन हिन मृत फेला परेका छन्।
अगस्ट १९ मा भएको यस दुःखद घटनापछि साल्फोर्ड प्रहरीले मृतकको परिवार वा नजिकका आफन्त फेला पार्न नसकेपछि उनीहरूको खोजीका लागि सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ।
प्रारम्भिक अनुसन्धानपछि प्रहरीले यो मृत्युलाई शङ्कास्पद मानेको छैन।
यस घटनाले म्यानचेस्टरमा रहेका हङकङका समुदायहरूमाझ ठूलो चिन्ता पैदा गरेको छ। इन्टरनेटमा आएका विभिन्न रिपोर्टहरूका अनुसार ल्युङ बेलायतमा विदेशी विद्यार्थीको रूपमा बसिरहेका थिए।
हङकङको अध्यागमन विभागले मृतकका परिवारबाट सहयोगको अनुरोध प्राप्त भएको जानकारी दिँदै आवश्यक कूटनीतिक सहयोग उपलब्ध गराइरहेको जनाएको छ।


