बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ

फाइल फोटो

लमजुङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीको नीति, विचार, कार्यशैली र सङ्गठनलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने बताएका छन्।

नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित मदन–आश्रित स्मृति भवनमा आयोजित १३औँ बैठकलाई आज सम्बोधन गर्दै उपाध्यक्ष गुरुङले पार्टीलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउन नीति, विचार, कार्यशैली तथा सङ्गठनमा आवश्यक पुनःगठन गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टी सङ्गठनलाई जनतासँग जोड्दै कार्यकर्तालाई सक्रिय, जिम्मेवार र प्रभावकारी ढङ्गले परिचालन गर्नुपर्नेमा जोड दिए।

बदलिँदो राजनीतिक परिवेश र जनताको अपेक्षालाई सम्बोधन गर्न पार्टीले आफ्नो कार्यशैलीमा सुधार गर्दै अघि बढ्नुपर्ने बताउँदै उपाध्यक्ष गुरुङले पार्टीका गतिविधिलाई जनताका समस्या तथा आवश्यकतासँग जोडेर सञ्चालन गर्नुपर्ने धारणा राखे।

एमाले केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले जनताको चाहना र अपेक्षाअनुसार पार्टी निर्माण गर्नुपर्ने बताए। पार्टीभित्र भएका गल्ती तथा कमजोरीलाई स्वीकार गर्दै त्यसबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उनले विगतका कमजोरीको समीक्षा गरी पार्टीलाई जनमुखी, सुदृढ र प्रभावकारी बनाउनुपर्ने बताए। उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्ता जिम्मेवार भएर सङ्गठन सुदृढीकरणमा लाग्नुपर्नेमा जोड दिए।

एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज जमिन्द्रमान घले र गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले पार्टी सङ्गठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउनुपर्ने बताए। पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउँदै संगठनलाई चलायमान बनाउनुपर्ने उनीहरूको भनाइ थियो।

जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्टले गत आर्थिक वर्षमा जिल्ला कमिटीबाट सम्पादन गरिएका कार्यक्रम तथा गतिविधिको विवरण प्रस्तुत गरेका थिए। उनले चालु आर्थिक वर्षमा सञ्चालन गरिने योजना तथा कार्यक्रम, सङ्गठन सुदृढीकरण र कार्यकर्ता परिचालनका विषयमा बैठकलाई जानकारी गराएका थिए।बैठकसँगै ‘मिसन पार्टी जागरण अभियान–२०८३’ सम्बन्धी अभिमुखीकरणसमेत गरिएको थियो। रासस





Comments

comments

140458