झापा । स्थलमार्ग हुँदै पूर्वी नाका काँकडभिट्टा भएर पर्यटक भित्रिने क्रम बढे पनि उनीहरूको बसाइँ लम्ब्याउन आवश्यक पर्यटन पूर्वाधार र सेवा विस्तार हुन नसकेको होटल व्यवसायीहरूले बताएका छन्।
होटल व्यवसायी महासङ्घ नेपालले मेचीनगरमा आइतबार आयोजना गरेको पर्यटन तथा होटल व्यवसायसम्बन्धी अन्तरक्रियामा व्यवसायीहरूले पर्यटकको आगमनअनुसार पूर्वाधार विकास हुन नसकेको, व्यवसाय सञ्चालनमा प्रशासनिक तथा आर्थिक समस्या रहेको र पर्यटन क्षेत्रका सरोकारवाला निकायबिच पर्याप्त समन्वय हुन नसकेको गुनासो गरेका हुन्।
होटल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष सुरेश श्रेष्ठले काँकडभिट्टा भएर आउने पर्यटकलाई अन्य गन्तव्यतर्फ जाने यात्रुमा सीमित नराखी स्थानीय पर्यटनसँग जोड्नुपर्ने बताए । उनले व्यवसायीका समस्या स्थानीय तहदेखि प्रदेश र सङ्घीय सरकारसम्म पुर्याउन आवश्यक रहेको बताउँदै भने, “पर्यटनको सम्भावना भएका क्षेत्रमा व्यवसायीले भोगेका समस्या पहिचान गरेर समाधानका लागि सम्बन्धित निकायलाई जिम्मेवार बनाउनु आवश्यक छ।”
मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले काँकडभिट्टालाई पर्यटकमैत्री बनाउन पूर्वाधार तथा सेवा सुविधा विस्तार गर्नुपर्ने बताइन् । “पर्यटकलाई आकर्षित गर्न होटल व्यवसाय सहज, सुरक्षित र सुविधा सम्पन्न हुनुपर्छ,” उनले भनिन्,“यसका लागि स्थानीय सरकार, निजी क्षेत्र र सम्बन्धित निकायबिच सहकार्य आवश्यक छ।”
पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले कोशी प्रदेशका धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनका सम्भावनालाई होटल तथा आतिथ्य व्यवसायसँग जोड्न सके स्थानीय अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने बताए । उनले पर्यटकीय गन्तव्यको विकाससँगै होटल तथा आतिथ्य क्षेत्रलाई व्यवस्थित रूपमा अघि बढाएर पर्यटकको बसाइँ लम्ब्याउन सकिने धारणा राखे।
कार्यक्रम संयोजनकर्ता होटल व्यवसायी सङ्घ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले पर्यटकलाई काँकडभिट्टा प्रवेश पश्चात् केही समय रोक्ने वातावरण बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिए। रासस


