चीनद्वारा नेपाललाई ३० करोड बढीको आपत्कालीन सहयोग, सामान बोक्ने ठूला ड्रोनहरूसमेत ल्याउने तयारी

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी र पहिरोका पीडितको राहत तथा उद्धारका लागि चीन सरकारले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ अर्थात् २० लाख अमेरिकी डलर नगद सहयोग हस्तान्तरण गरेको छ।

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी उक्त रकमको चेक हस्तान्तरण गरे। यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत पीडितको राहत र पुनर्स्थापनामा प्रयोग हुनेछ।

चीन सरकारको यो आर्थिक सहयोगबाहेक चिनियाँ रेडक्रसले पनि मानवीय सहायता स्वरूप थप ३ करोड ६ लाख रुपैयाँ अर्थात् २ लाख अमेरिकी डलर नगद उपलब्ध गराएको छ। उक्त रकम पनि सोही अवसरमा नेपाल सरकारलाई बुझाइएको हो।

नगद सहयोगका साथै चीनले ठूलो परिमाणमा आपत्कालीन भौतिक सामग्रीहरू समेत पठाएको छ। दुईवटा चिनियाँ विशेष विमानमार्फत ५० टन राहत सामग्री काठमाडौँ ल्याइएको छ, जसमा अस्थायी आवासका लागि आवश्यक टेन्ट, त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र तयारी खानेकुराहरू समावेश छन्।

भौतिक सामग्री मात्र नभएर चीनले विपद्ग्रस्त क्षेत्रमा जटिल उद्धार कार्यलाई तीव्रता दिन प्राविधिक सहयोग पनि परिचालन गरेको छ। जलविद्युत आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहित चिनियाँ प्राविधिक र दक्ष जनशक्ति नेपाल आइसकेका छन्। यसका साथै सडक सञ्जाल विच्छेद भएका विकट क्षेत्रमा सामान ओसारपसार गर्नका लागि चीनले सामान बोक्ने ठूला ड्रोनहरू समेत नेपाल ल्याउने तयारी गरेको छ।





Comments

comments

140631