डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज

दाङ । दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि जहाज अवतरण गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार बिहीबार डेढ महिनापछि विमानस्थलमा जहाज अवतरण गरेको हो।

नेपाल एयरलाइन्सको १९ सिटे जहाजमा बिहीबार काठमाडौंँबाट आठ जना र दाङबाट चार यात्रुले सेवा लिएका थिए।

मौसमका कारण अनियमित भएको दाङ–काठमाडौँ हवाईसेवा अब भने नियमित हुने वरिष्ठ अधिकृत भुुसालको भनाइ छ । “मौसमले सेवा अनियमित थियो, अब नियमित हुन्छ”, उनले भने।

उनका अनुसार अब हप्तामा आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार गरी चार दिन सेवा प्रदान गरिनेछ । हाल हवाई भाडा रु १२ हजारबराबर छ। हवाई सेवा बिहान ९ः०० देखि ११ः०० बजेको बीचमा उपलब्ध हुने भुसालले बताए।

टरिगाउँमा हाल ७५० मिटरमात्रै धावनमार्ग छ । जहाँ १९ सिटे जहाजमात्रै बस्न सक्छ । कम क्षमताको जहाज बस्ने र त्यो पनि अनियमित हुने भएकाले यस क्षेत्रका यात्रु नेपालगन्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । सो विमानस्थलमा ठूला जहाज बस्नेगरी धावनमार्ग विस्तारका लागि पटकपटक आवाज उठ्दै आएको भए पनि त्यसले सार्थकता पाउन सकेको छैन । विसं २०११ मा स्थापना भएको विमानस्थल विस्तार हुनसकेको छैन । चालु आर्थिक वर्षमा विमानस्थल स्तरोन्नतिका रु २५ करोड बजेट विनियोजन भएको छ।

टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण
दाङको राप्ती गाउँपालिकाले वडा कार्यालयसम्म पुग्न नसक्नेलाई घरमै पुगेर सेवा प्रदान गर्न थालेको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई वडा कार्यालयसम्म पुगेर सेवा लिन कठिन हुने भएकाले यस्तो नवीकरण अभियान थालिएको हो।

पञ्जीकरण शाखा प्रमुख नारायणबहादुर राउतका अनुसार सम्बन्धित वडा कार्यालयसँगको समन्वयमा टोलटोलमै पुगेर नवीकरण गर्न थालिएको हो। पालिकाको विकट क्षेत्रका रूपमा रहेको वडा नं ९ बाट यो अभियान सुरुआत गरिएको छ । आवश्यकताअनुसार अन्य वडाका गाउँ तथा टोलमा पनि अभियान सञ्चालन गरिने उनको भनाइ छ।

सामाजिक सुरक्षा भत्ता नवीकरणका क्रममा राष्ट्रिय परिचयपत्रसहित लाभग्राही स्वयं उपस्थित हुनुपर्नेलगायतका कारणले कतिपयलाई समस्या हुने गरेको छ । सोही कारण यस्तो अभियान थालिएको शाखा प्रमुख रावतले बताए । घरमै पुग्दा लाभग्राहीको अवस्था बुझ्नुका साथै आवश्यक कागजात तथा प्रक्रियाबारे जानकारी गराउने गरिएको उहाँको भनाइ छ। सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि असोज मसान्तसम्म समय छ। रासस





Comments

comments

140798