सल्यान जीप दुर्घटना: मृतकको संख्या तीन पुग्यो

सल्यान। सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा शनिबार बिहान भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२-००१ ज ०००५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खस्दा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परी त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय बालक रेशम बुढाथोकी र त्रिवेणी–५ की १८ वर्षीया विपना बुढाथोकीको जिल्ला अस्पताल सल्यान पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै, गम्भीर घाइते भएका त्रिवेणी–५ का ५० वर्षीय डिल्लीबहादुर वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा परेर जिप चालक २४ वर्षीय भुपाल पुन, २९ वर्षीय पारस बोहरा र ४२ वर्षीया लालमति बुढाथोकी घाइते भएका छन्। घाइतेहरूको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।





Comments

comments

140810