बेलायतको मेडवे क्षेत्रलाई कर्मथलो बनाएका नेपालीहरूले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै फेरि एकपटक अनुकरणीय कार्य गरेका छन्।
गोर्खा नेपाली कम्युनिटी मेडवेको आयोजनामा शनिबार १२ सेप्टेम्बर २०२६ का दिन आयोजित विशेष कार्यक्रमले एकातिर स्थानीय वातावरण सरसफाइमा योगदान पुर्याएको छ भने अर्कोतिर ज्येष्ठ नागरिकहरूप्रति आदरभाव प्रकट गर्दै आपसी सद्भावलाई प्रगाढ बनाएको छ।
शनिबार बिहान १०:०० बजेदेखि सुरु भएको कार्यक्रमको पहिलो चरणमा जिलिङ्घाम टाउनको ग्रेट लाइन हेरिटेज पार्कको तल्लो प्रवेशद्वार क्षेत्रमा ‘लिटर पिकिङ’ (सरसफाइ) गरिएको थियो।
छोटो समयको सूचनामा पनि स्थानीय नेपालीहरूको उत्साहजनक उपस्थिति रहेको यस अभियानबारे बोल्दै अध्यक्ष ज्ञानेन्द्र राईले आगामी दिनहरूमा पनि यस्ता सरसफाइ अभियानलाई नियमित रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो। महासचिव रोशन राईले पनि सदस्यहरूको सक्रिय सहभागिताबिना संस्था एक्लैले केही गर्न नसक्ने बताउँदै संस्थालाई जीवित राख्ने नै यहाँका सक्रिय सदस्यहरू भएको उल्लेख गर्नुभयो।
सरसफाइपश्चात् ल्याम्पर्ड सेन्टर, जिलिङ्घाममा ज्येष्ठ नागरिकहरूसँगको भलाकुसारी तथा चियापान कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको सबैभन्दा ठूलो आकर्षण मेडवे काउन्सिलकी पूर्वमेयर तथा काउन्सिलर नीना गुरुङद्वारा दिइएको कम्युनिटी हल भवनसम्बन्धी शुभसमाचार रह्यो। ज्येष्ठ नागरिकहरूलाई विभिन्न सचेतनामूलक जानकारीसहित डिमेन्सियाबारे पनि शिक्षामूलक जानकारी गराइएको थियो।
बेलायतकी पहिलो नेपाली मूलकी मेयरसमेत रहेकी गुरुङले नेपाली समुदायको लामो समयदेखिको सामुदायिक हलको आवश्यकतालाई सम्बोधन गर्न स्थानीय आवास प्रदायकबाट दुईतले भवन उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिनुभयो।
मेडवे डाइभर्सिटी फोरम, शिख, नेपाली र अफ्रिकन कम्युनिटीलाई न्यूनतम भाडामा हल उपलब्ध गराउने तयारी भएसँगै महँगो शुल्क तिरेर स्कुल वा होटलका हल प्रयोग गर्नुपर्ने बाध्यताबाट समुदाय मुक्त हुने विश्वास व्यक्त गर्नुभयो।
भवनमा धेरै वटा हल रहेकाले नेपाली कम्युनिटीलाई अनावश्यक हुने बाँकी हलहरू अरु समुदायका कम्युनिटीलाई दिँदा भाडा पनि कम हुने भएकाले सबैलाई फाइदा नै हुने देखिएको छ।
कोषाध्यक्ष पुष्पा राईको व्यवस्थापनमा तयार पारिएको चिया, कफी, स्यान्डविच र समोसाको स्वाद लिँदै ज्येष्ठ नागरिकहरूले खुलेर खुसी साटासाट गर्नुभयो।
अध्यक्ष ज्ञानेन्द्र राई, महासचिव रोशन राई, काउन्सिलर नीना गुरुङ, ताईकाजी गुरुङ, चन्द्रावती राई, जुनतारा राई, इन्डीसेन राई, पासाङ शेर्पा, डम्बरबहादुर राई, गम्बरसिंह लिम्बू, जगबहादुर थापा, पुष्पा राई, भूमिराज राई, मोहन सिंह तामाङ, अनस्पा राई र दिमाकसिंह राईलगायतको उपस्थिति रहेको यो कार्यक्रम विभिन्न सचेतनामूलक जानकारीसहित दिउँसो अबेर सम्पन्न भएको थियो।
— भूमिराज राई
(फोटो सौजन्य: मोहन सिंह तामाङ, इन्डीसेन राई, भूमिराज राई)


