नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। विश्व शान्तिको कामना गर्दै अमेरिकाको कोलोराडोमा किरात समाजद्वारा आयोजित त्रिदिवसीय अष्टहवन यज्ञ सम्पन्न भएको छ।
विश्वमा बढ्दै गइरहेको अशान्ति र संकटको निवारण गरी मानव एकता, आपसी सद्भाव र ब्रह्माण्डका सम्पूर्ण जीवित प्राणीहरूको कल्याणको पवित्र उद्देश्यका साथ आयोजित त्रिदिवसीय विशेष धार्मिक अनुष्ठान आइतबार सम्पन्न भएको हो।
किरात संस्कृति समाज कोलोराडोको आयोजनामा सम्पन्न त्रिदिवसीय अष्टहवन (येत्लाधुङ सेमी) सेवा कोलोराडोको अरोरा सहरमा भव्य रूपमा सञ्चालन भएको थियो। सेप्टेम्बर ११ शुक्रबारदेखि सुरु भएको सो विशेष पूजा अनुष्ठान सेप्टेम्बर १३ आइतबारका दिन विशेष धार्मिक विधि–विधानका साथ सफलतापूर्वक समापन भएको आयोजक समितिका उपाध्यक्ष मणि खालिङले जनाएका छन्।
कोलोराडोमा बसोबास गर्ने नेपाली भाषी किरात धर्मावलम्बीहरूको बृहत् एवं उत्साहजनक उपस्थिति रहेको यस सेवामा हरेक दिनको पूजा समापनपश्चात् माङशिवाखाहुन र साम्दाङगेन वारूमसाबाहरूद्वारा मुन्धुमी ज्ञान, दर्शन र सांस्कृतिक चेतनाका विविध पक्षहरूमा प्रवचन दिइएको थियो।
कार्यक्रममा कोलोराडोमा रहेका विभिन्न संघ संस्थाबाट विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। अनुष्ठानमा जीबीसीसीका अध्यक्ष चूडा बराल, समाजसेवी केदार खतिवडा, जीबीसीसीका मिडिया संयोजक हेम गिरी, समाजसेवी धरणी ढकाल, राम पौडेल र उत्तम निरौला लगायतको उत्साहजनक सहभागिता रहेको थियो। उपस्थितिले अनुष्ठानको रौनकता र सुन्दरतालाई अझ बढाएको आयोजक समितिका अध्यक्ष सह तेयुङले बताएका छन्। कार्यक्रममा अतिथिहरूको तर्फबाट चूडा बराल र केदार खतिवडाले मन्तव्य व्यक्त गर्दै प्रवासमा यस्तो पवित्र र अर्थपूर्ण धार्मिक सेवा आयोजना गरेकोमा आयोजक समितिलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा धार्मिक तथा सामाजिक सद्भावको सुन्दर दृश्यसमेत देखिएको थियो। समारोहमा किरात समुदायका तर्फबाट परम्परागत किरात भजनहरू प्रस्तुत गरिएको थियो भने धार्मिक सहिष्णुतालाई झल्काउँदै हिन्दु भजन टोलीका तर्फबाट गरिमा पौडेलको नेतृत्वमा बालबालिकाहरूले भजन प्रस्तुत गरेका थिए।
प्रवासमा हुर्कँदै गरेका बालबालिकाहरूले आफ्नो कला र संस्कृति झल्काउने भजन प्रस्तुत गर्दा उपस्थित सम्पूर्ण भक्तजनहरू मन्त्रमुग्ध भएका थिए। चन्द्र चाम्लिङ लगायतका समाजका अगुवाहरूको विशेष चासो र सहयोग रहेको यस कार्यक्रमलाई तिलु खालिङ र लगन चाम्लिङले सञ्चालन गरेका थिए। प्रवासको व्यस्त जीवनमा रहेर पनि आफ्नो मौलिक भाषा, मुन्धुमी संस्कार, पहिचान र परम्परालाई जीवित राख्दै अन्य समुदायसँग भाइचारा र धार्मिक सहिष्णुता कायम राख्न यो कार्यक्रम पूर्ण रूपमा सफल र एउटा महत्त्वपूर्ण कोसेढुङ्गा साबित भएको जीबीसीसीका मिडिया संयोजक हेम गिरीले बताएका छन्।
किरात संस्कृति समाज कोलोराडोले किरात संस्कृति, भाषा र परम्पराको संरक्षणका लागि विभिन्न सांस्कृतिक कार्यक्रमहरू, महागुरु फाल्गुनन्द जयन्ती, सेवा अनुष्ठान अनि किरात राष्ट्रिय अधिवेशन जस्ता ऐतिहासिक उत्सवहरू निरन्तर आयोजना गर्दै आएको छ।


