बर्दिया। भोटेकोशीमा आएको बाढीले बर्दिया बाँसगढी नगरपालिका-८, लक्ष्मणाका सोमनाथ पौडेलको परिवारको सर्वस्व खोसेको छ। बाढीमा परी पौडेल परिवारका चार जना सदस्य सम्पर्कविहीन भएपछि परिवारमा बज्रपात परेको छ।
नुवाकोटस्थित त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा इलेक्ट्रिकल इन्जिनियर पदमा कार्यरत सोमनाथसँगै उनकी पत्नी तारा उपाध्याय र २८ महिनाका जुम्ल्याहा छोराछोरी शिवान्स तथा तिसिया सम्पर्कविहीन भएका हुन्।
छोरा, बुहारी र नातिनातिना सम्पर्कविहीन भएपछि पौडेल परिवारमा ठूलो सङ्कट परेको छ। दिनरात उनीहरूको पर्खाइमा रहेका बुबा उमानाथ उपाध्याय आँसु झार्दै भन्छन्, ‘छोरा, बुहारी र नातिनातिना बाढीमा सम्पर्कविहीन भएपछि परिवारमा ठूलो बज्रपात परेको छ। हामी रातदिन छोराबुहारी र नातिनातिनाकै पर्खाइमा छौँ,’ उनी थप्छन्, ‘तर कतैबाट पनि केही जानकारी प्राप्त हुन सकेको छैन।’
सम्पर्कविहीन सन्तानलाई सम्झिँदै पौडेल परिवारका सदस्य रातदिन पीडामा छन्। नातिनातिनालाई खेलाएको सम्झिँदै आमा लक्ष्मी उपाध्याय रातदिन विलाप गर्ने गरेको उमानाथले बताएका छन्। ‘बाढीले छोराको वंश मात्रै खोसेर लगेन, यो बुढेसकालको सहारा पनि खोसेर लग्यो,’ उमानाथ भन्छन्, ‘हामी आमाबुवालाई सहनै नसक्ने गरी पीडा दिएर गएको छ।’
सम्पर्कविहीन छोरा सोमनाथलाई बुबा उमानाथले दुःख गरेर भारतको चेन्नईस्थित अन्न विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ पढाएका थिए। छोरालाई पढाउन गरेको दुःख सम्झिँदै उनी भन्छन्, ‘आफूले खाइनखाई छोरालाई इन्जिनियर पढाएँ,’ उनी बिलौना गर्छन्, ‘यो बुढेसकालमा छोराको सहारा लिने बेलामा हामीलाई नै सहाराविहीन बनाएर गयो।’
सोमनाथ विगत नौ वर्षदेखि त्रिशूली-३ ‘बी’ आयोजनामा कार्यरत थिए। छोराछोरी सानै भएकाले उनी परिवारसहित नुवाकोट बस्दै आएका थिए। भाइ, बुहारी र भतिजाभतिजीको खोजीमा घटनास्थल नुवाकोट पुगेका सोमनाथका दाजु तुलसीराम पौडेलले आफू दुई पटक नुवाकोट पुगे पनि उनीहरूको अवस्था पत्ता लाग्न नसकेको बताएका छन्।
‘भाइ र बुहारीको खोजीमा दुई पटक नुवाकोट गएँ। सात दिन बसेँ, तर कतै पनि पत्ता लागेन,’ तुलसीराम भन्छन्, ‘भाइसँगै काम गर्ने पाँच जनासँग भेटेँ। कसैले बाढी आउनुभन्दा दुई मिनेट अघिसम्म भाइसँगै रहेको बताए,’ उनी अगाडि भन्छन्, ‘भने कसैले पावर हाउसको कार्यालयभित्र छिरिसकेको अवस्थामा देखेको बताए।’
छोराको पहिचानका लागि बुबा उमानाथले भदौ २१ गते जिल्ला अस्पताल गुलरियामा डिएनए परीक्षणका लागि रगतको नमूना दिएका छन्। बुहारीको डिएनए परीक्षणका लागि ससुरा चन्द्रमणि उपाध्यायले पनि रगतको नमूना दिएका छन्। डिएनए परीक्षणको रिपोर्ट भने अझै आइसकेको छैन।
कामको सिलसिलामा रसुवा र नुवाकोट पुगेका सोमनाथ जस्तै बर्दियाका ७६ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका विपद् सम्पर्क व्यक्ति लोकप्रसाद ढकालले बताएका छन्। उनका अनुसार बाँसगढी नगरपालिकाका मात्रै १२ जना सम्पर्कविहीन छन् भने ५३ जना घर फर्किसकेका छन्।


