हङकङको ऐतिहासिक पहिलो पञ्चवर्षीय योजना सार्वजनिक: सुदृढ शासन, प्रविधि र पूर्वाधारमा व्यापक जोड

पशन तमू / एचकेनेपाल डट कम –
हङकङ, १६ सेप्टेम्बर। हङकङ सरकारले आफ्नो इतिहासमै पहिलो पटक विकासको वृहत पञ्चवर्षीय योजना (२०२६–२०३०) सार्वजनिक गरेको छ।

मुख्य कार्यकारी जोन लीले आज व्यवस्थापिका संसदमा आफ्नो पाँचौं नीति तथा कार्यक्रमसँगै यो ऐतिहासिक रणनीतिक खाका घोषणा गरे।

चीनको १५ औं पञ्चवर्षीय योजनासँग तादाम्यता मिलाएर ल्याइएको यस योजनाले हङकङको परम्परागत पूँजीवादी बजार व्यवस्था र ‘एक देश, दोस्रो प्रणाली’ को सिद्धान्तभित्रै रहेर नयाँ रोजगारी सिर्जना गर्ने, नयाँ घरहरूको निर्माण तीव्र पार्ने र आर्थिक समृद्धिलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको छ।

यस योजनालाई सफल बनाउन सरकारले संस्थागत सुरक्षाका लागि एक बलियो “चार–स्तम्भ” कार्यान्वयन मोडेल अघि सारेको छ, जसमा पञ्चवर्षीय योजनाले रणनीतिक नेतृत्व गर्नेछ भने वार्षिक नीति तथा कार्यक्रम र बजेटले यसलाई कार्यान्वयनको तहमा लैजानेछन्।

प्रशासनिक ढिलासुस्ती र विभागहरू बीचको आपसी दूरी अन्त्य गर्न विभाग प्रमुखहरूको जवाफदेहिता प्रणाली लागू गरिनेछ भने सार्वजनिक जोखिम व्यवस्थापनका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र अत्याधुनिक डेटा प्रविधिको व्यापक प्रयोग गरिनेछ।

संस्थागत अनुशासन कायम राख्न मुख्य कार्यकारीले आफ्नो वार्षिक भ्रमणका क्रममा चीनका राष्ट्रपति र केन्द्रीय सरकार समक्ष योजनाको प्रगति प्रतिवेदन आधिकारिक रूपमा पेश गर्नुपर्ने विशेष संयन्त्रसमेत तय गरिएको छ।

आर्थिक र भौतिक विकासतर्फ हङकङलाई विश्वकै अग्रणी वित्तीय र व्यापारिक केन्द्र बनाउन सन् २०२७ भित्रै सुनको लागि पहिलो केन्द्रीय राफसाफ प्रणाली र सेन्ट्रल बैंक डिजिटल करेन्सी (CBDC) मार्फत कारोबार फर्स्योट गर्ने प्रणाली कार्यान्वयनमा ल्याइनेछ।

नवप्रवर्तन र प्रविधिको क्षेत्रमा बजेट लगानी उल्लेख्य वृद्धि गर्दै एआई, रोबोटिक्स र उन्नत उत्पादन सामग्री जस्ता क्षेत्रमा द्रुत गतिमा काम अगाडि बढाइनेछ।

भौतिक पूर्वाधारतर्फ ‘नर्दन मेट्रोपोलिस’ परियोजनालाई सन् २०३० सम्ममा पूर्ण रूपमा निर्माणयोग्य क्षेत्रको रूपमा विकास गरिनेछ भने सहरी विकासलाई सहज बनाउन ‘१५ मिनेटको छिमेक’ को अवधारणा अपनाइनेछ, जसले गर्दा सर्वसाधारणले आफ्नो आवास क्षेत्रको १५ मिनेटको दायरामै शिक्षा, स्वास्थ्य र रोजगारीका सबै सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

सामाजिक सुरक्षा र जनसाधारणको जीवनयापन सहज बनाउन सस्तो सरकारी आवासगृहको औसत प्रतिक्षा समय ४.८ वर्षमा झारिनेछ भने स्वास्थ्य क्षेत्रतर्फ ङौ ताम मेईमा एक एकीकृत शिक्षण अस्पतालको निर्माण तीव्र पारिनेछ।

पुराना भवनहरूको सुरक्षा सुधार, अग्नि नियन्त्रणका लागि उच्च क्षमताका टोलीहरूको गठन र मर्मतसम्भारमा हुने भ्रष्टाचार रोक्न कडा उपायहरू लागू गरिनेछ।

साइबर अपराध र सीमापार हुने आपराधिक क्रियाकलापहरू नियन्त्रण गर्न इन्टेलिजेन्स सेयरिङ बढाउँदै एउटा सुरक्षित, खुला र समावेशी हङकङको निर्माण गर्ने दृढ संकल्प यस योजनाले लिएको छ।





Comments

comments

140875