नागोया, जापान: वरिष्ठ खेल पत्रकार नवीन अर्यालको बहुप्रतीक्षित पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ शुक्रवार जापानको नागोयास्थित दियालो रेस्टुरेन्टमा विमोचन भएको छ।
अर्यालको पुस्तक जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले एक समारोहका बीच विमोचन गरे।
यस अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोविनप्रसाद गौचन, नेपाल सफ्ट टेनिस संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय सफ्ट टेनिस संघका मानार्थ अध्यक्ष विनय विक्रम शाह, पूर्वकराते खेलाडी देव घिमिरे, आइएसकेएका विश्व च्याम्पियन अविरल घिमिरे, मोना आइसीसी उपाध्यक्ष दीपक केसी, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका महासचिव श्याम शीतल श्रेष्ठ, एनआरएनए जापान नागोया क्षेत्रीय समितिका संयोजक योमन देवानको उपस्थिति थियो।
विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा व्यक्त गर्दै कार्यवाहक राजदूत पौडेलले भने, ‘नवीन अर्यालको पुस्तकको माध्यमबाट नेपाल र जापानबीचको सम्बन्ध बुझ्न सहज हुनेछ । जापानसँग हाम्रो कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा पाँच वर्ष अगाडि नै खेलमार्फत हामी जोडिसकेका थियौं भन्ने जानकारी यही पुस्तकबाट थाहा पाएँ।’
उनले यो पुस्तक नेपाल–जापान सम्बन्धका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा एनआरएनएका वरिष्ठ उपाध्यक्ष शेरचनले पुस्तकमार्फत नेपाल–जापानको खेल सम्बन्ध बुझ्ने अवसर पाएकोमा लेखक अर्याललाई विशेष धन्यवाद दिए । उनले अर्यालको पुस्तक नेपालका लागि मात्र नभएर जापान सरकारका लागि पनि उत्कृष्ट दस्तावेज भएको बताए।
‘जापानमा बसिरहेका हामी नेपालीहरूलाई नेपाल–जापानबीचको खेल सम्बन्ध उजागर गराइदिनुभएकोमा लेखक अर्याललाई धन्यवाद भन्न चाहन्छु। पुस्तकमा दुई देशको मित्रतालाई खेलकुदको माध्यमबाट उजागर गर्न खोजिएको छ,’ उनले भने।
नेपाल र जापानबीच ७५ वर्षअघि खेल सम्बन्ध स्थापना भएको थियो। यही तथ्यलाई लेखक अर्यालले आफ्नो पुस्तकमा समावेश गरेका छन्।
जापानी समयअनुसार साँझ ७ बजेदेखि सुरु भएको कार्यक्रममा गलकोट समाज जापानका उपाध्यक्ष भेषनाथ गौतम, व्यवसायी डिलाराम खरेल, बुद्धिजीवी एवं एनआरएनए जापान नागोया क्षेत्रीय समितिका पूर्व उपसंयोजक नवराज चापागाईं, एनआरएनए जापान नागोया क्षेत्रीय समितिका उपसंयोजक यामबहादुर पाइजा मगर, स्थानीय पत्रकार कविकिरण न्यौपाने र निशान राणाको पनि उपस्थिति थियो । कार्यक्रम पत्रकार कान्ता गिरीले सञ्चालन गरेकी थिइन्।


