सह-पाइलटले विमान दुर्घटना गराउने आत्मघाती प्रयास गरे, रगतम्य पाइलटले बचाए १७४ जना यात्रुको ज्यान

–

काठमाडौं । आकाशमा उडिरहेको विमानभित्र ककपिटमा भएको एउटा भयानक हर्कत र त्यसलाई असफल पार्ने एक पाइलटको बहादुरीको कथाले यतिबेला विश्वभरका मानिसहरूको ध्यान खिचेको छ।

दुबईबाट इजरायलको तेल अवीभका लागि उडेको फ्लाईदुबईको उडान संख्या एफजेट १०७३ मा ३४ हजार फिटको उचाइमा पुगेका बेला विमानका ओमानका सह-पाइलटले अचानक विमानलाई दुर्घटना गराउने आत्मघाती प्रयास गरे।

उनले विमानको कन्ट्रोल सिस्टम बिगार्न खोजेपछि ककपिटभित्रै मुख्य क्याप्टेन भारतीय नागरिक स्मित मच्छरले उनको प्रतिवाद गरे। सोही क्रममा सह-पाइलटले क्याप्टेन स्मितमाथि चक्कुले अन्धाधुन्ध प्रहार गरेर टाउको र हातमा गम्भीर चोट पुर्‍याए।

अत्यधिक रक्तस्राव र चोटका कारण बेहोस हुने अवस्थामा पुग्दा पनि क्याप्टेन स्मितले हिम्मत हारेनन्। उनले आफ्नो ज्यान जोखिममा राखेर ककपिटको बलियो स्टीलको ढोका अनलक गर्न सफल भए र मद्दतका लागि गुहार मागे।

ढोका खुल्नासाथ विमानमा सवार एक इजरायली यात्रु र चालक दलका अन्य सदस्यहरू तुरुन्तै ककपिटभित्र पसेर आक्रमणकारी सह-पाइलटलाई नियन्त्रणमा लिए।

ककपिटमा रहेका अर्का अतिरिक्त पाइलटले तुरुन्तै विमानको कमान्ड सम्हाले र साउदी अरबको ताबुक विमानस्थलमा विमानलाई सुरक्षित रूपमा आपतकालीन अवतरण गराउन सफल भए। जसका कारण विमानमा सवार १७४ जना यात्रुको ज्यान जोगियो।

यो घटना सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय स्तरमै क्याप्टेन स्मितको व्यापक प्रशंसा भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर घाइते अवस्थामा पनि अद्भुत सुझबुझ देखाएको भन्दै स्मितलाई वास्तविक हिरोको संज्ञा दिएका छन्।

त्यस्तै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले स्मितको साहसले ठूलो हवाई दुर्घटना टरेको भन्दै उनलाई साँचो हिरो भन्दै सलाम गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सामाजिक सञ्जालमार्फत क्याप्टेन स्मितको बहादुरीप्रति गर्व व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

हाल घाइते क्याप्टेनको साउदी अरबको एक अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था स्थिर रहेको बताइएको छ।





Comments

comments

141163