नेपालका विपद् पीडितका लागि अमेरिकाको ‘बिडिए’ बाट २१ लाख ५० हजार रुपैयाँ सहयोग

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। अमेरिकामा नेपालीभाषी समुदायसहित विभिन्न समुदायबीच रक्तदान तथा मानवीय सेवामा सक्रिय ब्लड डोनर्स अफ अमेरिका (बिडिए) ले नेपालमा बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगार्थ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब २१ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

नेपालीभाषी समुदायको अग्रसरतामा स्थापना भएको बिडिएले विशेषगरी रसुवा–भोटेकोशी क्षेत्रमा बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम नेपाल सरकारको कोषमा जम्मा गरेको हो।

बिडिएका वरिष्ठ उपाध्यक्ष टीका पौडेलका अनुसार संस्थाले केन्द्रीय रूपमा ८ हजार ५२२ अमेरिकी डलर सहयोग गरेको छ। ब्लड डोनर्स अफ अमेरिका का नामबाट गभर्मेन्ट अफ नेपाल – प्राइम मिनिस्टर डिजास्टर रिलिफ फन्ड मा उक्त रकम प्रदान गरिएको हो। रकम एनसिएचल इलेक्ट्रोनिक पेमेन्ट गेटवे (इपिजी) मार्फत भुक्तानी गरिएको र कारोबारको अवस्था सफल रहेको रसिदमा उल्लेख गरिएको छ।

यसैगरी बिडिएका विभिन्न राज्य कमिटीहरूले पनि विपद् प्रभावितको सहयोगार्थ छुट्टाछुट्टै आर्थिक सहयोग गरेका छन्। न्यूयोर्क स्टेट कमिटीले १ हजार ३०० डलर, मेरील्यान्ड स्टेट कमिटीले १ हजार १०० डलर र फ्लोरिडा स्टेट कमिटीले ३ हजार डलर सहयोग गरेका छन्। तीनवटै राज्य कमिटीबाट गरी ५ हजार ४०० अमेरिकी डलर थप सहयोग भएको बिडिएले जनाएको छ।

केन्द्रीय संस्था तथा राज्य कमिटीहरूको योगदान जोड्दा बिडिए बाट करिब १४ हजार अमेरिकी डलर सहयोग नेपाल सरकारमार्फत विपद् प्रभावित नागरिकका लागि उपलब्ध भएको जनाइएको छ। उक्त सहयोग नेपाली रुपैयाँमा करिब २१ लाख ५० हजार रुपैयाँ बराबर रहेको बताइएको छ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस योगदानले बिडिए को रक्तदान अभियानसँगै विपद्का समयमा मानवीय सेवामा पनि सक्रिय भूमिका रहेको देखाएको छ।

बिडिएले अमेरिकामा नेपाली समुदायलगायत विभिन्न समुदायबीच नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ।

‘रक्तदानबाट जीवन बचाउने’ अभियानलाई मूल उद्देश्य बनाउँदै आएको संस्थाले विपद्का समयमा राहत तथा मानवीय सहयोगमार्फत आफ्नो सामाजिक उत्तरदायित्वलाई समेत निरन्तरता दिँदै आएको छ।

“रक्तदानबाट जीवन बचाउने अभियानसँगै विपद्मा परेका नागरिकलाई सहयोग गर्नु पनि हाम्रो मानवीय दायित्व हो,” बिडिए का वरिष्ठ उपाध्यक्ष टीका पौडेलले भने।

नेपालमा समय–समयमा आउने बाढी, पहिरो, भूकम्प लगायतका प्राकृतिक विपद्का समयमा प्रवासमा रहेका नेपाली समुदाय र संस्थाहरूले आर्थिक तथा मानवीय सहयोग गर्दै आएका छन्। बिडिए को पछिल्लो सहयोग पनि प्रवासमा रहेका नेपालीहरूको सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको मानवीय सम्बन्धको एउटा उदाहरणका रूपमा देखिएको छ।





Comments

comments

141169