इजिप्टमा ६ जना पत्रकार पक्राउ

कायरो । इजिप्टका अधिकारीहरूले स्वतन्त्र सञ्चारमाध्यम मात्सादासका छ जना पत्रकारलाई प्रतिबन्धित मुस्लिम ब्रदरहुडसँग सम्बन्धित रहेको आरोपमा पक्राउ गरेका छन् । घटनापछि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय अधिकार समूहहरूले पत्रकारहरूको रिहाइको माग गरेका छन्।

अधिकारीहरूले विदेशी कोषको बदलामा अनलाइन माध्यमका लागि झुटा समाचार उत्पादन गरेको आरोप लगाएका छन् । तर मात्सादासका सहसंस्थापक अब्देलरहमान मन्सुरले आरोप अस्वीकार गर्दै पक्राउ परेका पत्रकारहरू कहाँ छन् भन्नेबारे उनीहरूका परिवारलाई समेत जानकारी नभएको बताए । उनले उनीहरूलाई सकुशल रिहा गर्न माग गरे।

मात्सादासले इजिप्टसहित अन्य अरब मुलुकमा खोजमूलक पत्रकारिता गर्दै आएको छ । इजिप्टमा यसको वेबसाइट अवरुद्ध भए पनि फेसबुकमा १० लाखभन्दा बढी फलोअर छन् । इजिप्टको गृह मन्त्रालयले भने मन्सुरले भारतबाट सञ्चालन गरेको अनुमतिविहीन माध्यमका रूपमा उल्लेख गर्दै पक्राउ परेका पत्रकारहरू मुस्लिम ब्रदरहुडको ‘मिडिया कमिटी’ का सदस्य रहेको आरोप लगाएको छ।

मन्सुरका अनुसार पत्रकारहरू सोमबार र मङ्गलबार विभिन्न स्थानबाट पक्राउ परेका थिए । उनीहरूका मोबाइल फोन र कम्प्युटर जफत गरिएको छ। व्यक्तिगत अधिकारका लागि इजिप्टियन इनिसिएटिभले पत्रकारहरूलाई परिवार वा कानूनी टोलीसँग सम्पर्क गर्न नदिइएको र उनीहरू कहाँ छन् भन्ने स्पष्ट नभएको जनाएको छ।

ह्युमन राइट्स वाच र रिपोर्टर्स विदाउट बोर्डर्ससहित ८० भन्दा बढी अधिकार समूह तथा नागरिक समाज संस्थाले पत्रकारहरूको रिहाइको माग गरेका छन्। उनीहरूले मात्सादासले सार्वजनिक चासोका विषयमा विश्वसनीय समाचार दिँदै आएको बताएका छन्।

सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई सेनाले अपदस्थ गरेपछि इजिप्टले मुस्लिम ब्रदरहुडलाई आतङ्कवादी सङ्गठन घोषणा गरेको थियो। त्यसयता पत्रकार तथा सरकारका आलोचकलाई उक्त समूहसँग सम्बन्धित रहेको वा झुटा समाचार फैलाएको आरोप लगाइँदै आएको छ। रासस





Comments

comments

141178