आँसुका भेल र अर्धचेतबीच विजय पाण्डेको अन्तिम दाहसंस्कार सम्पन्न

–

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। ‘उठ बाबु तिमीलाई भेट्न बाबा र म नेपालबाट आइपुगेका छौं ।’ अर्धचेतको अवस्थामा छोराको अन्तिम संस्कार कार्यक्रममा आमा संगीताको क्रन्दन हो यो।

–

उज्ज्वल भविष्यको सपना बोकेर अमेरिका आएका १८ वर्षीय विजय पाण्डेको आँसुका भेल र आमा संगीताको अर्धचेतबीच आज कोलोराडोमा अन्तिम दाहसंस्कार सम्पन्न भएको छ।

गत अगस्ट २९ मा भएको सडक दुर्घटनामा निधन भएका विजय पाण्डेको अन्तिम संस्कार सम्पन्न गर्न उनका बुबाआमा नेपालबाट कोलोराडो आइपुगेपछि अन्तिम संस्कार सम्पन्न भएको हो।

–

नेपालको स्याङ्जा जिल्ला, बिरुवा निवासी गणेशप्रसाद पाण्डे र संगीता पाण्डेका जेठा छोरा विजय करिब आठ महिनाअघि मात्र कोलोराडो आएका थिए । उनी अगस्ट २९ को राति काम सकेर कोठातर्फ फर्किने क्रममा सडक दुर्घटनामा परेका थिए।

–

छोराको असामयिक निधनको खबरपछि बुढेसकालको सहारा गुमाएका बुबाआमा नेपालबाट कोलोराडो आइपुगेका थिए । आयोजित श्रद्धाञ्जली तथा अन्तिम संस्कार कार्यक्रममा परिवार, आफन्त, साथीभाइ तथा कोलोराडोमा रहेका नेपालीभाषी समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।

–

अन्तिम संस्कारका क्रममा विजयकी आमा संगीता पाण्डे पटक-पटक भावविह्वल भएकी थिइन् । उनी पटक-पटक छोराको गालामा म्वाइँ खाँदै बेहोस भएर ढलेकी थिइन् । अन्तिम पटक छोरालाई माया व्यक्त गरिरहेको दृश्यले उपस्थित सबैलाई भावुक बनाएको थियो । त्यस्तै, भाइ आर्यन पाण्डेले पनि दाइको शवअगाडि आँसु थाम्न सकेनन् । दाइको अनुहार आफ्नो दुबै आँखाबाट झरेका आँसुले धुँदै अन्तिम बिदाइ गरिरहेको दृश्य अत्यन्त मार्मिक बनेको थियो।

–

विजयका बुबा गणेशप्रसाद पाण्डेले हिन्दू धार्मिक संस्कार तथा परम्परा अनुसार छोराको अन्तिम दाहसंस्कारको मुख्य विधि पूरा गरेका थिए । पिण्डदान तथा दागबत्ती दिने लगायतका धार्मिक विधि पूरा गरी विद्युतीय शवगृहको स्विच थिची उनले छोरा विजयको अन्तिम दाहसंस्कार सम्पन्न गरेका थिए।

–

हिन्दू धार्मिक परम्परा र संस्कार अनुसार पण्डित रूपनाथ भट्टराई र पण्डित चुडाप्रसाद न्यौपानेले आवश्यक धार्मिक विधि सम्पन्न गराएका थिए।

–

दाहसंस्कार कार्यक्रममा कोलोराडोमा रहेका विभिन्न संघसंस्थाका पदाधिकारी, सामाजिक अभियन्ता, बुद्धिजीवी, समुदायका सदस्य, आफन्त तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले विजयको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए। कार्यक्रममा समाजसेवी नन्दलाल न्यौपानेले यस दुःखद घटनाबारे संक्षिप्त जानकारी गराएका थिए।

–

विजय सानै उमेरदेखि मिहिनेत गर्दै आफ्नो तथा परिवारको भविष्य निर्माण गर्ने सपना बोकेर अमेरिका आएका थिए । तर अमेरिका आएको केही समयमै भएको सडक दुर्घटनाले उनको जीवनयात्रा असामयिक रूपमा रोकिदिएको छ।

अल्पायुमै भएको उनको निधनले परिवार, आफन्त, साथीभाइ तथा कोलोराडोमा रहेका नेपाली समुदायलाई गहिरो पीडा दिएको छ । परिवारका लागि यो केवल अन्तिम संस्कारको कार्यक्रम नभई आफ्ना प्रिय छोरालाई अन्तिमपटक बिदाइ गर्ने अत्यन्त पीडादायी क्षण बनेको छ।





Comments

comments

141242