काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ।
राष्ट्रपतिको नाम मतपत्रमा नरहे पनि काङ्ग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर तथा हजारौँ राज्यस्तरीय पदका लागि हुने निर्वाचनले उनको प्रशासनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ।
प्रतिनिधि सभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) का ४३५ र सिनेटका ३५ सिटका लागि हुने निर्वाचनमा प्रतिनिधि सभाको बहुमतका लागि २१८ सिट आवश्यक छ । हाल प्रतिनिधि सभामा २१८ रिपब्लिकन र २१४ डेमोक्रेटिकसहित एक स्वतन्त्र र दुई रिक्त सिट छन्। सिनेटमा रिपब्लिकन ५३ र डेमोक्रेट ४७ सिटमा छन् । डेमोक्रेटलाई सिनेट नियन्त्रणका लागि चार सिट थप आवश्यक पर्नेछ।
सेप्टेम्बर १४–१५ को पीबीएस न्युज/एनपीआर/मारिस्ट सर्वेक्षणमा काङ्ग्रेसका उम्मेदवार छनोट गर्दा ५३ प्रतिशत दर्ता मतदाताले डेमोक्रेट र ४१ प्रतिशतले रिपब्लिकनलाई समर्थन गर्ने बताएका थिए । स्वतन्त्र मतदातामध्ये डेमोक्रेटको समर्थन ५७ प्रतिशत र रिपब्लिकनको ३२ प्रतिशत थियो। विभिन्न सेप्टेम्बर सर्वेक्षणमा राष्ट्रपति ट्रम्पको अनुमोदन दर ३२ देखि ४१ प्रतिशतबिच देखिएको छ।
निर्वाचन प्रचारमा पनि ठुलो रकम खर्च भइरहेको छ । सन् २०२५–२६ को निर्वाचन चक्रमा विज्ञापनमा करिब १२ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । क्यालिफोर्नियाको गभर्नरको प्रारम्भिक निर्वाचनमा मात्रै ३३ करोड डलर खर्च भएको बताइएको छ।
यस वर्ष काङ्ग्रेसको प्रारम्भिक निर्वाचनमा दुई हजार ४९७ उम्मेदवार सहभागी भएका थिए। नोभेम्बर ३ को प्रतिनिधि सभा निर्वाचनमा सन् २०२४ का प्रमुख दलका उम्मेदवारबीच ४४ वटा पुनः प्रतिस्पर्धा हुँदैछ भने राज्य तथा स्थानीय निर्वाचनसमेत जोड्दा त्यस्ता ४७४ पुनः प्रतिस्पर्धा हुनेछन्। रासस


