तनहुँ । तनहुँका प्रमुख पर्यटकीय तथा धार्मिक गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोड्ने तयारी गरिएको छ।
जिल्लामा पछिल्लो समय बढ्दै गएको आन्तरिक पर्यटनलाई लक्षित गर्दै बन्दीपुर र आँबुखैरेनीमा सञ्चालन हुँदै आएको जिप सफारीलाई अन्य पर्यटकीय गन्तव्यसँग जोड्ने योजना अघि सारिएको हो।
बन्दीपुर भिलेज सफारीका सञ्चालक वसन्त पौडेलका अनुसार बन्दीपुर र आँबुखैरेनी क्षेत्रमा जिप सफारी सञ्चालन भइरहेको छ । पर्यटकलाई सडकमार्ग हुँदै गाउँ, पहाड, धार्मिकस्थल तथा प्राकृतिक गन्तव्यको अवलोकन गराउने उद्देश्यले जिप सफारी सञ्चालन गरिएको उनले बताए।
जिप सफारीलाई थप विस्तार गर्दै दमौली–मानुङकोट, छाब्दी, छिम्केश्वरी र आँधीमूललाई समेटेर धार्मिक तथा पर्यटकीय सर्किट विकास गर्ने तयारी गरिएको पौडेलले जानकारी दिए । “बन्दीपुर र आँबुखैरेनीमा जिप सफारी भइरहेको छ । अब यसलाई अन्य पर्यटकीय गन्तव्यसँग जोडेर पर्यटन सर्किटका रूपमा विकास गर्ने तयारी गरेका छौँ,” पौडेलले भने।
उनका अनुसार तनहुँमा धार्मिक, प्राकृतिक र ग्रामीण पर्यटनका लागि पर्याप्त सम्भावना भए पनि गन्तव्यबिचको सम्बन्ध र पर्यटकीय प्याकेजको विकासमा अझै ध्यान पुग्न सकेको छैन । एउटै यात्रामा विभिन्न गन्तव्यको भ्रमण गर्न सकिने गरी सफारी सञ्चालन गर्न सके पर्यटकको बसाइ अवधि बढाउन पनि सहयोग पुग्ने उनको भनाइ छ।
मानुङकोट सूर्योदय तथा हिमशृङ्खला अवलोकनका लागि चर्चित गन्तव्यका रूपमा विकास भएको छ । त्यससँगै छाब्दी धार्मिक तथा प्राकृतिक आकर्षण बोकेको स्थल हो । छिम्केश्वरी तनहुँको उच्च पहाडी क्षेत्रको महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य हो भने आँधीमूल पनि धार्मिक पर्यटनका दृष्टिले महत्त्वपूर्ण स्थलका रूपमा परिचित छ।
यी गन्तव्यलाई सडक मार्गमार्फत जोडेर जिप सफारी सञ्चालन गर्न सके पर्यटकलाई एउटै प्याकेजमा फरक–फरक प्रकृतिका गन्तव्यको अनुभव गराउन सकिने पौडेल बताउँछन्।
जिप सफारीले पर्यटकलाई मुख्य बजार क्षेत्रबाट गाउँ तथा पहाडी बस्ती हुँदै गन्तव्यसम्म पुर्याउने भएकाले यसबाट ग्रामीण क्षेत्रमा समेत पर्यटनको लाभ पुग्ने अपेक्षा गरिएको छ । पर्यटकको आवागमन बढेमा स्थानीय होटल, होमस्टे, रेस्टुरेन्ट, कृषि उपज तथा स्थानीय उत्पादनको बजार विस्तारमा पनि सहयोग पुग्ने व्यवसायीको विश्वास छ।
बन्दीपुर यसअघि नै नेपालको प्रमुख पहाडी पर्यटकीय गन्तव्यका रूपमा स्थापित छ । यहाँ आउने पर्यटकलाई आसपासका ग्रामीण तथा धार्मिक क्षेत्रसम्म पुर्याउन सके बन्दीपुरमा केन्द्रित पर्यटनलाई जिल्लाका अन्य क्षेत्रमा विस्तार गर्न सकिने देखिन्छ।
आँबुखैरेनी पनि प्राकृतिक सौन्दर्य, धार्मिकस्थल तथा ग्रामीण परिवेशका कारण पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । जिप सफारीमार्फत यी क्षेत्रलाई जोड्दा सडकमार्गबाट सहजै घुम्न चाहने पर्यटकका लागि नयाँ विकल्प थपिने उनले बताए।
पर्यटन व्यवसायी पौडेलले पर्यटकलाई केवल एउटा गन्तव्य देखाएर फर्काउनेभन्दा गन्तव्यको समूह बनाएर प्याकेज तयार गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । त्यसका लागि स्थानीय तह, पर्यटन व्यवसायी र स्थानीय समुदायबिच सहकार्य आवश्यक रहेको उनी बताउँछन्।
“एउटा गन्तव्यमा पुगेपछि अर्को गन्तव्यसम्म जाने वातावरण बनाउन सकियो भने पर्यटकको बसाइ र खर्च दुवै बढाउन सकिन्छ,” पौडेलले भन्नुभयो । धार्मिक तथा पर्यटकीय सर्किट निर्माणसँगै स्थानीय समुदायलाई पर्यटनसँग जोड्ने योजना पनि महत्त्वपूर्ण हुने उनको भनाइ छ।
पर्यटक आउने क्षेत्रका स्थानीयले घरबास (होमस्टे) सञ्चालन, स्थानीय खाना, हस्तकला, कृषि उपज तथा सांस्कृतिक गतिविधिमार्फत आम्दानी गर्न सक्ने भएकाले पर्यटनबाट प्रत्यक्ष लाभ लिन सक्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।
तनहुँका विभिन्न क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यबिच यातायातको सहज पहुँच, पूर्वाधार विकास र प्रचारप्रसारलाई एकीकृत गर्न सके जिल्लालाई लामो दूरीको पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने व्यवसायीको विश्वास छ। रासस


