एचकेनेपाल डट कम –
लन्डन, संयुक्त अधिराज्य (बेलायत) को साताव्यापी औपचारिक भ्रमणका लागि प्रधान सेनापति महारथी अशोक राज सिग्देल अहिले बेलायतमा हुनुहुन्छ।
बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ, जनरल सर रोली वाकरको औपचारिक निमन्त्रणामा आश्विन १९ गते (५ अक्टोबर २०२६) बेलायत प्रस्थान गर्नुभएका प्रधान सेनापति सिग्देलको यो भ्रमण आश्विन २५ गते (११ अक्टोबर २०२६) सम्म जारी रहनेछ।
भ्रमणको सुरुवाती चरणमै प्रधान सेनापति सिग्देलले बेलायतको राजधानी लन्डनस्थित ह्वाइटहलको हर्स गार्ड्स एभेन्युमा रहेको ऐतिहासिक गोर्खा स्मारकमा पुगी पुष्पहार अर्पण गर्नुभएको छ।
बेलायती सेनामा गोर्खा सैनिकहरूले पुर्याएको अतुलनीय योगदान, वीरता र त्यागको उच्च सम्मान गर्दै उहाँले ‘साहसी र बहादुर’ (Bravest of the Brave) हरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो।
लन्डन विमानस्थलमा उच्चस्तरीय स्वागत
बेलायतको लन्डनस्थित हिथ्रो विमानस्थलमा अवतरण गर्नुहुँदा प्रधान सेनापति सिग्देललाई बेलायतका तर्फबाट मेजर जनरल द राइट होनरेबल द लर्ड लांकास्टर अफ किम्बोल्टनले न्यानो स्वागत तथा अभिवादन टक्राउनुभएको थियो। यो उच्चस्तरीय स्वागतले दुई देशबीचको घनिष्ठ सम्बन्धलाई थप प्रगाढ बनाएको छ।
“सदियौँ पुरानो द्विपक्षीय तथा रक्षा साझेदारी”
नेपाल र बेलायतबीच दुई शताब्दीभन्दा बढी समयदेखि अनवरत रूपमा विशिष्ट किसिमको मित्रता कायम रहँदै आएको छ।
यो सम्बन्ध केवल कूटनीतिक दायरामा सीमित नभई एक सुदृढ रक्षा साझेदारी र बलियो जनस्तरको सम्बन्धमा आधारित छ।
गोर्खा सैनिकहरू दुई देशबीचको यो अटुट मित्रताका प्रमुख जीवन्त कडीका रूपमा रहँदै आएका छन्।
नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, प्रधान सेनापति सिग्देलको यो औपचारिक भ्रमणले सदियौँ पुरानो आपसी सैनिक सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ। साथै, सैनिक कूटनीति (Military Diplomacy) को माध्यमबाट नेपालको परराष्ट्र नीतिलाई थप प्रभावकारी बनाउन समेत यसले सकारात्मक योगदान पुर्याउनेछ।
कायममुकायम कार्यभार
बेलायत प्रस्थान गर्नुअघि प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गर्नुभएको थियो।
उहाँको अनुपस्थितिमा नेपाली सेनाको दैनिक प्रशासनिक तथा साङ्गठनिक कार्यभार बलाधिकृत रथी प्रदीपजङ्ग केसीले कायममुकायम प्रधान सेनापतिका रूपमा सम्हाली रहनुभएको छ।
प्रधान सेनापति सिग्देल भ्रमण सम्पन्न गरी आगामी असोज २५ गते स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ।
– भूमिराज राई
फोटो सौजन्य: नेपाली सेना/यूके इन नेपाल फेसबुक पेज


