गायिका मेलिना राईलाई पितृशोक परेपछि बेलायतको ‘सुम्निमा साङ्गीतिक साँझ २०२६’ स्थगित

–

लन्डन, बेलायत — बेलायतको अल्डरशटस्थित एम्पायर हलमा अक्टोबर ९ (असोज २४) गते आयोजना हुने तय भएको ‘सुम्निमा साङ्गीतिक साँझ २०२६’ स्थगित गरिएको छ।

कार्यक्रमकी प्रमुख तथा चर्चित गायिका मेलिना राई र जुनु राईका पूज्य पिता गायक, संगीतकार तथा संगीत गुरु जिबेस राईको असामयिक निधनका कारण कार्यक्रम केही समयका लागि स्थगन गरिएको आयोजकले जनाएको छ।

सुम्निमा इभेन्ट्स, लुङ्टो क्रिएसन र इनास यूकेको संयुक्त आयोजनामा भोटेकोशी बाढीपीडित सहयोगार्थ उक्त साङ्गीतिक कार्यक्रम हुन गइरहेको थियो।

कार्यक्रममा मेलिना राईसहित प्रताप दास, सुशील नेपाल, सबिना योङ्हाङ लिम्बू, रोशन राई, अप्सरा घिमिरे, जानुका राई र पार्वती राई लगायतका कलाकारहरूको प्रस्तुति रहने तय गरिएको थियो।

आयोजक समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै यस दुःखद् घडीमा गायिका मेलिना राई तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। पारिवारिक शोक र भावनाको उच्च सम्मान गर्दै प्रमुख कलाकारकै उपस्थितिबिना कार्यक्रम गर्न नसकिने निष्कर्ष निकाल्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो।

कार्यक्रमको मुख्य आकर्षण नै मेलिना राई रहेका कारण उहाँलगायत सम्पूर्ण कलाकारहरूको सहभागितामा आगामी दिनमा यसलाई अझ भव्य र आत्मीय रूपमा पुनः आयोजना गरिने आयोजकले प्रतिबद्धता जनाएको छ। कार्यक्रमको नयाँ मिति, समय र स्थान यथाशीघ्र सार्वजनिक गरिनेछ।

अत्यधिक दर्शकहरूको सहभागितामा आयोजना हुन तय भएको कार्यक्रम अचानक स्थगित हुन पुग्दा दर्शक, प्रायोजक, सहकार्यकर्ता र शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति आयोजक टिमले माफी मागेको छ। साथै, यस कठिन परिस्थितिमा सबैतर्फबाट प्राप्त माया, साथ र धैर्यताका लागि हार्दिक आभार प्रकट गरिएको छ।

युकेमा लामो समयपछि आयोजना हुन लागेको ठूलो स्केलको साङ्गीतिक कार्यक्रम शोकका कारण स्थगन भएकाले अर्को मितिमा सोही कार्यक्रम आयोजना गरेर दर्शकहरूको साङ्गीतिक भोक मेटाउन आयोजक प्रतिबद्ध रहेको छ।

यस दुःखद् घडीमा गायिका मेलिना राई र परिवारप्रति परेको बज्रपात सहन सक्ने शक्ति मिलोस्।
– भूमिराज राई





Comments

comments

141341