पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा

–

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्थित पाउद्वार गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ। यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि गएको पहिरोले गाउँ जोड्ने सडक र पदमार्ग क्षतिग्रस्त बनाएको छ भने विद्युत् सेवा अवरुद्ध बनेको छ।

भिरालो पाखामा परम्परागत ढुङ्गे घरहरू गुजुमुज्ज रहेका पाउद्वारका बासिन्दा पहिरोले घेरिएपछि समस्यामा परेका छन् । सडक, घोरेटो बाटो र विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन।

अन्नपूर्ण गाउँपालिका-५ का वडाध्यक्ष राजेश तिलिजा पुनका अनुसार पाउद्वारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्ती पनि प्राकृतिक नाकाबन्दीमा परेका छन्। “घर भत्किएका र बस्न नमिल्ने घरका २२७ जनालाई शिख र घारमा अस्थायी आश्रयस्थल बनाएर राखिएको छ,” उनले भने।

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घारखोला, नेपाने, पाउद्वार, घिरवाङ, किन्दु र धोस्केखोर हुँदै वडा कार्यालय रहेको शिख जोड्ने सडक पहिरोले क्षति गरेको छ। नेपानेका बासिन्दा पूर्ण पाइजाका अनुसार सडकको अवस्था दयनीय छ, हिँड्न पनि सास्ती भइरहेको छ।

“पाउद्वार र घार गाउँ जोड्ने पैदलमार्गमा खसेको पहिरो पन्छाएर सामान्य आवतजावत गर्न मिल्ने बनाइएको छ,” वडा सदस्य पनि रहेका पाइजाले भने, “तर खाद्यान्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने खच्चरसमेत हिँडाउन सकिने अवस्था छैन।”

वडाध्यक्ष पुनका अनुसार २०० भन्दा बढी घर रहेका पाउद्वारका चार वटा टोलमा यसअघि १७० परिवारको बसोबास थियो । विपद्का बेला हेलिकप्टरबाट उद्धार गरिएका गाउँलेसहित विस्थापित परिवार अहिले घार र शिखमा आश्रय लिएर बसेका छन्।

घारस्थित अस्थायी आश्रयस्थलमा बस्दै आएका वीरबहादुर तिलिजालाई आफ्नो थातथलोमा फर्किएर बस्न पाइने हो वा होइन भन्ने चिन्ताले सताएको छ । पहिरोले गाउँ घेरेपछि अन्यत्र जाने बाटो नभएपछि हेलिकप्टरबाट उद्धार हुनु परेको उनले बताए।

“पहिरोले गाउँ घेरेपछि कतै जाने ठाउँ नपाएर हेलिकप्टरबाट उद्धार भई शिविरमा बस्दै आएका छौँ । अब त्यो ठाउँमा बसाइ होला भन्ने चिताएको छैन,” उनले भने, “हिउँदमा राम्रो देखिए पनि आउने बर्खामा अहिलेको भन्दा धेरै दुःख पाइने निश्चित छ ।”

गाउँ फर्किने बाटो र आधारभूत सेवा अवरुद्ध भएपछि पाउद्वारका बासिन्दा आफ्नै गाउँमा सहज रूपमा बस्न पाउनेमा ढुक्क हुन सकेका छैनन् । आगामी वर्षायाममा फेरि यस्तै विपद् दोहोरिने हो कि भन्ने चिन्ता स्थानीय छन्।

यसैबीच, गाउँलेले श्रमदान गरेर पदमार्ग, विद्युत् लाइन र खानेपानीका संरचना मर्मत गर्न थालेका छन्। पाउद्वारका बासिन्दा जसे पुनका अनुसार पछिल्लो तीन दिनदेखि डाँडागाउँ र माझगाउँ टोलका बासिन्दाले श्रमदान गरेर पर्यटकीयस्थल खोपरा जाने लरेनीसम्मको पदमार्ग सञ्चालनमा ल्याएका छन्।

पाउद्वाबाट नेपाने, किन्दु र घारतर्फ जोड्ने पदमार्ग पनि मर्मत गर्न थालिएको छ । पदमार्ग सञ्चालनमा आएपछि खच्चर र घोडामार्फत खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुने अपेक्षा गरिएको स्थानीय अस्मि तिलिजा पुनले बताउनुभयो । माझगाउँका बासिन्दाले विद्युत् लाइन मर्मतका लागि पनि श्रमदान अभियान सञ्चालन गरेका छन्।

पहिरोमा पुरिएको ‘ट्रान्सफर्मर’ निकालेर नयाँ जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले जानकारी दिए। विद्युत् सेवा र पदमार्ग पुनः सञ्चालन गर्ने प्रयाससँगै गाउँको जोखिम अवस्थाबारे अध्ययन गर्न पनि पहल गरिएको छ।

उपाध्यक्ष पुनका अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भूगर्भविद् पठाइदिन अनुरोध गरिएको छ। पहिरोले गाउँका बस्ती, आवागमन र आधारभूत सेवा प्रभावित भएपछि पाउद्वारका बासिन्दा तत्काल राहतसँगै दीर्घकालीन सुरक्षित बसोबासको प्रतीक्षामा छन्। रासस





Comments

comments

141505