काठमाडौँ। जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ललितपुरको नक्खुस्थित निवासबाट शनिबार बिहान उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार यो औपचारिक पक्राउ नभई छलफलका लागि उनलाई नेपाल प्रहरीको साइबर ब्युरो लगिएको हो।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं कलाकार हिमेश पन्तले जनआस्थामा प्रकाशित समाचारको विषयलाई लिएर आफ्नो चरित्र हत्या भएको भन्दै शुक्रबार साइबर ब्युरोमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा छलफलका लागि श्रेष्ठलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पत्रकार श्रेष्ठले पनि पन्तविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका छन्। साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार दुवै पक्षको उजुरी परेकाले दुवैलाई राखेर छलफल गराउनका लागि श्रेष्ठलाई ब्युरो ल्याइएको हो।
यस क्रममा हिमेश पन्तलाई किन पक्राउ वा नियन्त्रणमा लिइएन भन्ने प्रश्न पनि उठेको छ। साइबर ब्युरो स्रोतका अनुसार यो कसैलाई हिरासतमा लिन गरिएको कारबाही नभई प्रारम्भिक उजुरीमाथिको सोधपुछ र छलफल मात्र हो।
पन्तले दिएको उजुरीका आधारमा बुझ्नका लागि श्रेष्ठलाई पहिले ब्युरो बोलाइएको र दुवै पक्षलाई सँगै राखेर बयान तथा छलफल गराउने ब्युरोको तयारी छ।
प्रहरीले यो नियमित अनुसन्धान प्रक्रिया भएको र कसैलाई पनि थुनामा नराखिएकाले पन्तलाई नियन्त्रणमा लिनु नपरेको स्पष्ट पारेको छ।
श्रेष्ठ यसअघि पनि गत साउन २७ गते वैयक्तिक गोपनीयता सम्बन्धी कसुरको आरोपमा पक्राउ परेका थिए। त्यतिबेला सर्वोच्च अदालतको आदेशपछि उनी भदौ १ गते हिरासतमुक्त भएका थिए।


