बलुचिस्तान । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा १० जना आतङ्कवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ।
पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) ले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, गाब्द सीमा नाका र ग्वादर सहर आसपासका क्षेत्रमा हिंसात्मक गतिविधि गर्ने प्रयास भएपछि सुरक्षा बलले कारबाही अघि बढाएको थियो।
विज्ञप्तिमा उल्लेख भएअनुसार, विभिन्न स्थानमा भएका भिडन्तका क्रममा सुरक्षा बलले आतङ्कवादीहरूको गतिविधि विफल पारेको थियो। त्यसपछि ग्वादर सहर र आसपासका क्षेत्रमा सुरक्षा सुनिश्चित गर्न तथा सशङ्कित गतिविधि नियन्त्रण गर्न खोज तथा सफाइ अभियान सञ्चालन गरिएको थियो।
सेनाका अनुसार, उक्त घटनाक्रमका क्रममा एक सर्वसाधारणको मृत्यु भएको छ भने केही सवारीसाधनमा क्षति पुगेको छ । कारबाहीका क्रममा सुरक्षाकर्मीतर्फ भने कुनै मानवीय क्षति नभएको विज्ञप्तिमा जनाइएको छ।
बलुचिस्तान पाकिस्तानको दक्षिण–पश्चिमी क्षेत्रमा अवस्थित प्रान्त हो । यस क्षेत्रमा समय–समयमा सशस्त्र हिंसा र सुरक्षा कारबाहीका घटना हुँदै आएका छन्। रासस


