काठमाडौँ । अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनले स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीको प्रयोग गरी घातक ड्रोन आक्रमण गरेको आरोप लगाएका छन्।
युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने उक्त सञ्जालको सेवामा आएको अवरोधलाई लिएर वासिङ्टन र किएभबीच तनाव बढिरहेका बेला मस्कको यो भनाइ आएको हो।
मस्कले शनिबार सामाजिक सञ्जाल एक्समा लेख्दै युक्रेनी सेनाले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरी मानिसको ज्यान लिने उद्देश्यले ड्रोन आक्रमण गर्न प्रणालीको प्रयोग गरेको आरोप लगाए । उनले उक्त कमजोरी गत हप्ता नै हटाइएको पनि दाबी गरे।
“स्टारलिङ्कका सर्तहरू सधैँ यसलाई नागरिक सञ्चार प्रणालीका रूपमा प्रयोग गर्ने उद्देश्यमा आधारित छन्, हत्या गर्ने माध्यमका रूपमा होइन । सर्त उल्लङ्घन भएमा सेवा बन्द गरिनेछ,” मस्कले अर्को पोस्टमा लेखेका छन्।
यद्यपि, मस्कले युक्रेनको रक्षाका लागि स्टारलिङ्क अझै पनि अत्यन्त महत्वपूर्ण रहेको बताए । उनका अनुसार, तत्काल अवरुद्ध पार्न वा नष्ट गर्न कठिन भएकाले यो प्रणाली युक्रेनी सेनाका लागि निर्णायक छ । “स्टारलिङ्क बन्द भएमा युक्रेनको अग्रपंक्ति तत्कालै ढल्नेछ,” उनले भने।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता मस्कले युक्रेनप्रतिको आफ्नो धारणा पटक–पटक परिवर्तन गर्दै आएका छन् । उनले स्टारलिङ्क सेवामा आउने अवरोधका लागि स्पेसएक्सभन्दा अमेरिकी सरकार जिम्मेवार रहेको दाबी पनि गर्दै आएका छन्।
रुसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको सामना गरिरहेको युक्रेनले सैन्य सञ्चार, निगरानी र अन्य सञ्चालनका लागि नागरिक प्रयोजनको स्टारलिङ्क तथा सैन्य प्रयोजनका लागि विकसित स्टारशिल्ड प्रणालीमा निर्भर रहँदै आएको छ।
युक्रेनका रक्षामन्त्री येभगेनी खमाराले शनिबार निगरानी प्रणालीहरूले स्टारलिङ्क र स्टारशिल्डको गतिमा सुधार देखाएको बताए । उनका अनुसार, प्रणालीको गति प्रतिघण्टा ४०० किलोमिटरभन्दा बढी पुगेको छ र सञ्चार सम्पर्क स्थिर रहेको छ।
“यो उपलब्धि हाम्रो अग्रपंक्ति, सैनिक, ड्रोन सञ्चालन, रसद व्यवस्थापन र सञ्चारका लागि अत्यन्त महत्वपूर्ण छ,” खमाराले भने।
उनले आवश्यक गति पुनः प्राप्त भएको र सेवा पुनःस्थापनाको काम रातिदेखि नै सुरु गरिएको पनि बताए । युक्रेनी सेनाका लागि अग्रपंक्तिमा रसद व्यवस्थापन गर्न र रकेटबाट चल्ने ड्रोनको खतरासहितका आक्रमणबाट देशको रक्षा गर्न यो सुधार महत्वपूर्ण रहेको उनको भनाइ थियो।
स्टारलिङ्क सञ्जाल पछिल्लो समय युक्रेन र अमेरिकाबीचको विवादको प्रमुख विषय बनेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनले रुसलाई फाइदा पुग्ने गरी काम गरेको आरोप लगाएका थिए । उनका अनुसार, अमेरिकाले युक्रेनतर्फ लक्षित क्षेप्यास्त्र आक्रमणबारे समयमै पूर्वसूचना नदिएको र स्टारलिङ्कको गति सीमित पारेको कारण युक्रेनको सैन्य प्रतिकार्य कमजोर भएको थियो।
रक्षामन्त्री खमाराले यस विषयमा जेलेन्स्कीले लिएको ‘दृढ अडान’ को प्रशंसा गर्दै त्यसले सकारात्मक नतिजा दिइरहेको बताए। रासस


