हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी

–

काठमाडौं । यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा आक्रमण गरेपछि दुई सातासम्म बन्द रहेको रियाद अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबारदेखि उडान पुनः सुरु भएका छन्। यद्यपि, इरान समर्थित यस समूहले आगामी दिनमा थप आक्रमण हुन सक्ने चेतावनी दिएको छ।

‘फ्लाइट राडार’ नामक उडान अनुगमन साइटले आइतबार बिहान रियाद विमानस्थलबाट एउटा विमान उडेर साउदी सहर जेद्दाहतर्फ गइरहेको देखाएको छ।

साउदी अरब र उसले समर्थन गरेको यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले लामो समयदेखि कायम रहेको युद्धविराम यसै गर्मीयाममा भङ्ग भएपछि पछिल्ला साताहरूमा हुथी विद्रोहीका निरन्तर आक्रमणको सामना गरिरहेका छन्।

यो द्वन्द्वले अमेरिका र इरानबीचको व्यापक टकरावको केन्द्रबिन्दु यमनतर्फ मोडिदिएको छ। यसले विश्वकै गरिब मुलुकहरूमध्ये एक यमनमा मानवीय सङ्कटलाई थप गहिरो बनाएको छ।

रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलले शनिबार सामाजिक सञ्जाल एक्समार्फत अक्टोबर २५ आइतबारदेखि लागू हुने गरी टर्मिनल १ लाई आन्तरिक उडान र टर्मिनल २ लाई राष्ट्रिय वायुसेवा कम्पनीहरूद्वारा सञ्चालित अन्तर्राष्ट्रिय उडानका लागि तोकिएको जानकारी दिएको थियो।

हुथी विद्रोहीहरूले रियाद विमानस्थललाई लक्षित गरी पटक–पटक आक्रमण गरेका छन् । यसै महिना भएको एउटा आक्रमणमा १३ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी मानिस घाइते भएका थिए । यो साउदी अरबमा विगत एक दशकभन्दा बढी समययताकै सबैभन्दा घातक आक्रमण थियो।

हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारीले विमानस्थल अझै असुरक्षित रहेको र यो सैन्य लक्ष्य भएको चेतावनी दिएका छन् ।

“यमनी सशस्त्र बलहरूले सबै अन्तर्राष्ट्रिय, क्षेत्रीय र स्थानीय वायुसेवा कम्पनीहरू, साथै त्यहाँका कर्मचारी र यात्रुहरूलाई रियादस्थित किङ खालिद विमानस्थल प्रयोग नगर्न चेतावनी दिन्छन्, किनकि यो असुरक्षित छ र हाम्रा सेनाका लागि सैन्य लक्ष्यका रूपमा रहेको छ,” उनले भने।

हुथी विद्रोहीहरूसँग लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले आइतबार बिहान रियाद क्षेत्रमा दुईवटा ड्रोन खसालेको जनाएको छ। रासस





Comments

comments

141748