खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्षको दसैँमा माइतीघर आवतजावत गर्ने ६४२ छोरीचेलीलाई निःशुल्क मोटरबाइक सेवा दिएका छन्।
सामाजिक सेवाको भावना बोकेका युवा समूहले दसैँको अवसर पारेर चार दिन (कात्तिक ३ गतेदेखि ६ गतेसम्म) सञ्चालन गरेको अभियानमा ६४२ छोरीचेलीले निःशुल्क मोटरबाइक सेवा दिएका हुन्।
अभियानको पहिलो दिन कात्तिक ३ गते ५० जना, कात्तिक ४ गते ११० जना, कात्तिक ५ गते २५२ जना र कात्तिक ६ गते २३० जना चेलीले निःशुल्क माटरबाइक सेवा सेवा लिएको अभियानका संयोजक सञ्जयकुमार राईले जानकारी दिए।
“तेस्रो संस्करणका रुपमा सञ्चालन गरिएको अभियानमा ५० जना राइडर सहभागी भएका थिए । अभियानमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राईसमेत राइडरका रुपमा खटिनुभएको थियो”, उनले भने, “माइती तथा मावली घर जाने आउनेक्रममा निःशुल्क मोटरबाइक सेवा पाउँदा चेली हर्षित छन् । सामाजिक सेवाभावले सञ्चालन गरिएको अभियान तिहारमा पनि जारी रहन्छ।”
तिहारमा पनि माइती पुज्न आवतजावत गर्ने चेलीका लागि कात्तिक २४ गतेदेखि २६ गतेसम्म निःशुल्क मोटरबाइक सेवा दिने तयारी गरिएको युवा समूहले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा विभिन्न राजनीतिक दलमा आस्था राख्ने युवाले विसं २०८१ देखि ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियान सञ्चालन गर्दै आएका छन्। रासस


