हङकङ प्रहरीबाट भाग्ने क्रममा भवनबाट खसेर एक जनाको मृत्यु

सन्दर्भ फोटो

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २६ अक्टोबर। हङकङको मङग ककस्थित एउटा पुरानो भवनमा आइतबार राति प्रहरीले छापा मार्ने क्रममा भाग्न खोज्दा झ्यालबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ।

अर्गनाइज्ड क्राइम एन्ड ट्रायाड ब्युरोका प्रहरी अधिकारीहरूले रेक्लामेसन स्ट्रिट ३७१ नम्बरमा रहेको भवनमा छापा मारेका थिए।

प्रहरी टोली ढोका फोडेर भित्र पस्ने बित्तिकै, एक संदिग्ध पुरुष झ्यालबाट बाहिर निस्केर भाग्न खोज्दा अचानक तल खसेका थिए।

राति करिब ९ बजे बाटो हिँड्ने एक सर्वसाधारणले मानिस खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। बेहोस अवस्थामा फेला परेका उनलाई तत्कालै क्वाङ वाह अस्पताल पुर्‍याइएको थियो, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे।

प्रहरीले सोही फ्ल्याटबाट थप अनुसन्धानका लागि २१ जना पुरुष तथा महिलाहरूलाई नियन्त्रणमा लिएको छ।

यस घटना र प्रहरी कारबाहीबारे मङग कक प्रहरीले थप अनुसन्धान गरिरहेको छ।





Comments

comments

141763