सप्तरी । मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत बन्दै गएको छ। मृत्यु भोज मधेसको परम्परा र संस्कृति भएकाले घरमा कसैको मृत्यु भएपछि मान्छे गुमाएको पीडाभन्दा पनि भोजकै चिन्ता, भोज गर्नुपर्ने बाध्यता रहँदै आएको छ।
घरमा कसैको मृत्यु भएपछि रितिरिवाजअनुसार गर्नुपर्ने क्रियाकर्मको तयारीसँगै मृत्युु भोजको तयारीमा घरमुली जुट्नुपर्ने बाध्यता छ । जात र समुदायअनुसार मृत्यु भएको १३ दिनको अवधिभित्र तीनदेखि पाँच पटक भोज गर्नुपर्ने बाध्यता अहिले पनि यथावत छ । कतिपयले नाम, सान र प्रतिस्पर्धामा ठूलोभन्दा ठूलो भोज गर्दै आएका छन्।
भोज परम्परा संस्कृति र रितिरिवाज मात्रै नभए हाम्रो संस्कार हो भन्ने बुझाइ अधिकांशमा छ । अन्नदान गर्नु पुण्यको काम हो । यसले आफन्त र परिवारलाई जोड्ने काम गर्छ । तर ऋण लिएर बाध्यताले भोज गर्नु संस्कृतिको नाममा विकृति भएको पूर्वशिक्षामन्त्री रेणु यादवले बताइन्।
उनले भनिन्, ‘मृत्युमा अनिवार्य भोज गर्नुपर्ने प्रथाको न्यूनीकरण मात्र नभएर अन्त्य गर्नुपर्ने आवश्यकता छ । समाजले जबरजस्त लाधेको परम्परा भएकाले यस प्रथाको न्यूनीकरणका लागि हामी एकजुट भएर लाग्नुपर्ने आवश्यक छ।’
भोज संस्कार र बाध्यताले नभएर स्वेच्छाले हुनुपर्ने जरुरी रहेको उनले बताइन् । मधेसमा बढी जनसङ्ख्या रहेको यादव समुदायले २५/५० गाउँको एकै पटक सभा भोज गर्ने चलन छ।
मृत्यु भोजको नाममा हुने आडम्बरी सभा भोजलाई प्रोत्साहन गर्नु दुःखद रहेको आमसञ्चार प्राधिकरण मधेस प्रदेशका पूर्वअध्यक्ष श्यामसुन्दर यादवले बताए । उनले भने, ‘मृत्यु भोजलाई प्रोत्साहन गर्नुभन्दा हतोत्साही गर्नुपर्ने आवश्यकता छ।’
एउटा भोजमा ५० हजारसम्मको स्वजाति आफन्तले भोज खाने गरेका पाइन्छ । भोजमा हुने खर्चले एक परिवारको १० वर्षभन्दा माथि जीवन चल्न सक्छ । भोजमा गरिने खर्च विपन्नको जीविकोपार्जन र शिक्षामा लगानी गर्न सके सकारात्मक सन्देशसँगै संक्षम र शिक्षित समाज निर्माणमा सहयोग पुग्ने उनले बताए।
राजविराज नगरपालिका–१ कि दुर्गादेवी रजकले सासु बित्दा भोज गर्न सक्दिन भन्दा समाजले भोज गर्नैपर्छ भन्दै कर लगायो । त्यसपछि भोज गर्नको लागि ३ लाख ऋण लिनुभर्ने बाध्यता भयो । त्यो ऋणको ब्याज जसोतसो तिरेपनि ऋण अहिलेसम्म तिर्न सकेकी छैनन्।
दुर्गा त ऋण लिएर भोज गर्ने प्रतिनिधि पात्र मात्र हुन मधेसका यस्ता सयौँ परिवारले मृत्यु भोज गर्नुपर्ने बाध्यताले अहिले ऋण लिएर भोज गर्ने र वर्षौसम्म ऋणमा अल्झिने प्रवृत्ति अझै कायम रहेको नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले बताए।
भोजको नाममा ऋणको भारी बोक्ने काम कसैले गर्नु आवश्यक नरहेकाे उनले बताए। रासस


