ताप्लेजुङ । चीन सरकारको अनुदान सहयोग स्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर मेसिन प्राप्त भएको छ।
गाउँपालिकाको पूर्वाधार विकास तथा निर्माणकार्यलाई तीव्रता दिने उद्देश्यले माग गरिएको उक्त मेसिन सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा आयोजित एक कार्यक्रमबीच गाउँपालिकाले बुझेको छ।
तातोपानी नाकामा बुधवार आयोजित हस्तान्तरण कार्यक्रममा मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष दुर्गाहाङ सिरेङ चोङ्बाङले चीन सरकारका प्रतिनिधिमण्डलसँग सम्झौतापत्रमा हस्ताक्षर गरी अनुदानमा प्राप्त स्काभेटर मेसिन बुझ्नुभएको गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर)ले जानकारी दिए।
गाउँपालिकाले स्थानीयस्तरमा सडक निर्माण, सडक स्तरोन्नति तथा अन्य भौतिक पूर्वाधार विकासका कामलाई प्रभावकारी बनाउन चीन सरकारसमक्ष ब्रेकरसहित स्काभेटर मेसिन उपलब्ध गराइदिन अनुरोध गरेको थियो । प्राप्त अनुदानले गाउँपालिकाको विकास निर्माणलाई थप गति दिन महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष हाङ्गामले बताए।
भौगोलिक रूपमा विकट क्षेत्र समेटिएको मेरिङदेन गाउँपालिकामा आवश्यक निर्माण उपकरण उपलब्ध हुँदा सडक निर्माण तथा मर्मतसम्भारका कामलाई सहज बनाउन टेवा पुग्ने गाउँपालिकाले जनाएको छ।
करिब एक करोड ७० लाख रुपैयाँ बराबरको मेसिन सहयोगका लागि गाउँपालिकाले चीन सरकारप्रति आभार तथा धन्यवाद व्यक्त गरेको छ। साथै यसका लागि आवश्यक समन्वय तथा सहजीकरणमा विशेष भूमिका निर्वाह गरेकोप्रति फक्ताङ्लुङ गाउँपालिका–७ का वडा अध्यक्ष छेतेन शेर्पाप्रति पनि गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ। रासस


