काठमाडौँ । अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गरिरहेको चीनले अमेरिकी अन्तरिक्ष प्रभुत्वलाई चुनौती दिइरहेको अमेरिकी रक्षा गुप्तचर निकाय (डिआइए) को प्रतिवेदनले जनाएको छ।
चीनले उपग्रह निगरानीदेखि प्रतिउपग्रह हतियारसम्मका प्रविधि विकास गरिरहेको र यसबाट अमेरिका तथा उसका सहयोगीका अन्तरिक्ष प्रणालीमा खतरा बढ्न सक्ने प्रतिवेदनको मूल्याङ्कन छ।
अक्टोबर २०२६ को अन्त्यमा सार्वजनिक १३० पृष्ठ लामो प्रतिवेदनले चीन, रुस, इरान र उत्तर कोरियालाई अमेरिकी अन्तरिक्ष सुरक्षाका प्रमुख चुनौतीका रूपमा पहिचान गरेको छ । यी देशले उपग्रह प्रणाली अवरुद्ध गर्ने, क्षति पुर्याउने वा नष्ट गर्न सक्ने प्रविधि विकास गरिरहेको उल्लेख गर्दै प्रतिवेदनले विशेषगरी चीन र रुसको जामिङ, साइबर आक्रमण तथा प्रत्यक्ष विनाशकारी हतियारको क्षमताबारे ध्यानाकर्षण गराएको छ।
चीनले अन्तरिक्ष क्षेत्रमा अग्रणी शक्ति बन्ने, अन्तर्राष्ट्रिय मापदण्डमा प्रभाव बढाउने र अन्य देशको अन्तरिक्ष प्रणालीमाथिको निर्भरतालाई रणनीतिक लाभका रूपमा उपयोग गर्ने लक्ष्य राखेको डिआइएको आकलन छ । सन् २०१६ मा २२ वटा अन्तरिक्ष प्रक्षेपण गरेको चीनले सन् २०२५ मा ९३ वटा गरेको थियो । त्यस्तै, सन् २०१६ मा ४० वटा उपग्रह प्रक्षेपण गरेको चीनले गत वर्ष ३८४ वटा प्रक्षेपण गरेको प्रतिवेदनमा उल्लेख छ।
सन् २०२६ को मध्यसम्म चीनसँग ५१० भन्दा बढी गुप्तचर, निगरानी तथा अनुगमन (आइएसआर) उपग्रह रहेको प्रतिवेदनमा जनाइएको छ । यी उपग्रहबाट प्राप्त सूचनाले सैन्य गतिविधि, हतियारको लक्ष्य निर्धारण, मौसम, समुद्री अवस्था र सञ्चारमा सहयोग पुर्याउन सक्छ । नागरिक तथा व्यावसायिक प्रयोजनका उपग्रहबाट प्राप्त तथ्याङ्कसमेत चिनियाँ जनमुक्ति सेनाले उपयोग गर्न सक्ने प्रतिवेदनको भनाइ छ।
चिनियाँ उपग्रह प्रणालीले हिन्द–प्रशान्त क्षेत्रमा अमेरिकी तथा सहयोगी सेनाको गतिविधि निगरानी गर्न र विमानवाहक युद्धपोतको अवस्थिति पहिचान गर्न सहयोग गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ । चीनले पृथ्वीको सतहबाट तुलनात्मक रूपमा नजिक रहने कक्षमा ठूलो सङ्ख्यामा उपग्रह राखेर सञ्जाल विस्तार गरिरहेको छ । यसबाट विश्वका जुनसुकै स्थानको तस्बिर ३० मिनेटभित्र प्राप्त गर्न सकिने प्रतिवेदनमा उल्लेख छ।
चीनको बेइडोउ नेभिगेसन प्रणालीमा ४९ उपग्रह छन् र यसका दुई अर्बभन्दा बढी प्रयोगकर्ता रहेको प्रतिवेदनमा उल्लेख छ । चिनियाँ सेनाले निर्देशित हतियारको लक्ष्य निर्धारणमा समेत यसको प्रयोग गर्ने गरेको छ । अफ्रिका, एसिया र ल्याटिन अमेरिकी देशमा उपग्रह निर्माण, प्रक्षेपण, तालिम तथा बेइडोउ सेवामार्फत चीनले अन्तरिक्ष सहकार्य विस्तार गरिरहेको छ।
चीनका ४०० भन्दा बढी व्यावसायिक अन्तरिक्ष कम्पनीले स्वदेशी तथा विदेशी ग्राहकलाई सेवा दिन सक्ने प्रतिवेदनमा जनाइएको छ । डिआइएका अनुसार चीनले उपग्रह नष्ट गर्न सक्ने भूमिमा आधारित प्रतिउपग्रह क्षेप्यास्त्रसहित जामिङ, साइबर आक्रमण र शक्तिशाली लेजर प्रविधि विकास गरिरहेको छ।
चीनले सन् २००७ मा क्षेप्यास्त्र प्रहार गरी मौसम उपग्रह नष्ट गरेको थियो भने सन् २०१३ मा ३० हजार किलोमिटर उचाइसम्म वस्तु प्रक्षेपण गरेको थियो । यस क्षमताबाट पृथ्वीबाट धेरै टाढा अन्तरिक्षमा रहेका उपग्रहलाई समेत निशाना बनाउन सकिने अनुमान गरिएको छ।
त्यस्तै, आफ्ना उपग्रहबाट अन्य देशका अन्तरिक्षयानको निगरानी र गतिविधिमा हस्तक्षेप गर्न सक्ने क्षमता पनि चीनले विस्तार गरिरहेको प्रतिवेदनमा उल्लेख छ । ‘टोङ्क्सिन जिशु शियान’ शृङ्खलाका २७ उपग्रहलाई सम्भावित हस्तक्षेपकारी प्रणालीका रूपमा उल्लेख गर्दै तीमध्ये केही विदेशी अन्तरिक्षयानको १० किलोमिटर नजिक पुगेको जनाइएको छ।
ताइवानलाई लिएर क्षेत्रीय द्वन्द्व भएमा अमेरिकी हस्तक्षेप रोक्न चीनले प्रतिअन्तरिक्ष क्षमता प्रयोग गर्न सक्ने डिआइएको आकलन छ। अन्तरिक्षमा हतियार तैनाथ नगर्ने प्रतिबद्धता अघि सार्दै आएको चीनले भने प्रतिअन्तरिक्ष हतियार विकास जारी राखेको प्रतिवेदनमा उल्लेख छ।
सन् २०२४ अप्रिलमा राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेनाको रणनीतिक सहयोग बल विघटन गरेपछि अन्तरिक्षसम्बन्धी क्षमता नयाँ एरोस्पेस फोर्समा समावेश गरिएको थियो, जुन केन्द्रीय सैन्य आयोगअन्तर्गत रहन्छ।
प्रतिवेदनले रुसले युक्रेन युद्धमा व्यावसायिक उपग्रह तथा सञ्चार प्रणालीलाई निशाना बनाएको र चीनले रुसी सैन्य कारबाहीलाई आवश्यक अन्तरिक्षसम्बन्धी सहयोग बढाउँदै लगेको पनि उल्लेख गरेको छ । आगामी दशकमा चीन र रुसले पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्ष प्रणाली तथा अत्याधुनिक कृत्रिम बौद्धिकता (एआई) प्रविधि विकास गरे अन्तरिक्ष सुरक्षाको चुनौती थप बढ्न सक्ने डिआइएको चेतावनी छ। रासस

