कपिलवस्तु । कपिलवस्तुको तौलिहवास्थित बालगृहमा रहेका २४ बालकले बबिता चौधरीको हातबाट सामूहिक रूपमा भाइटिका लगाएर तिहार मनाएका छन्।
भाइटिकाको अवसरमा कपिलवस्तु नगरपालिका–९ जगदीशपुरकी चौधरीले बालगृहमा रहेका बालकलाई सप्तरङ्गी टीका र माला लगाइदिनुका साथै मिठाई, सेलरोटी र फलफूल उपहार दिएकी थिइन् । उनले बालकहरूलाई टीका लगाएर आशीर्वादसमेत दिएका थिए।
चौधरीले विगत दुई वर्षदेखि बालगृहका बालकलाई भाइटिका लगाउँदै आएका छन् । रगतको नाता नभए पनि बालगृहका बालकसँग आत्मीय सम्बन्ध स्थापित भएको उनले बताइन् । “बालगृहका भाइहरूलाई सामूहिक रूपमा टीका लगाउन पाउँदा निकै खुसी लाग्छ”, उनले भनिन्, “रगतको नाता नभए पनि यहाँका भाइहरूसँग कर्मको नाता जोडिएको छ।”
एकैपटक धेरै भाइलाई टीका लगाउन पाउँदा आफूलाई भाग्यमानी महसुस हुने उनको भनाइ छ । चौधरीका आफ्नै एक दाइ र एक भाइ छन्।
बालगृहमा रहेका रोहन सुनारले दिदी बबिताको हातबाट टीका लगाउन पाउँदा खुसी लागेको बताए । “आफ्नै दिदीसँग टीका लगाएजस्तो महसुस भएको छ”, उनले भने । बालगृहमा लालनपालन र शिक्षादीक्षासँगै चाडपर्व पनि पारिवारिक वातावरणमा मनाउन पाउँदा आफूहरू खुसी हुने उनले बताए।
बालगृहका प्रमुख रामप्रसाद अर्यालले बालकलाई विभिन्न चाडपर्वमा रमाइलोसँग सहभागी हुने वातावरण मिलाउँदै आएको बताए । “हामीले भविष्यका कर्णधारलाई सकेसम्म राम्रो वातावरण प्रदान गरेका छौँ”, उनले भने।
बालगृहमा १८ वर्षमुनिका २९ बालक रहेका छन्। तीमध्ये पाँच जना भाइटिका मनाउन नजिकैका आफन्तको घर गएकाले बाँकी २४ जनाले बालगृहमै सामूहिक रूपमा भाइटिका मनाएका हुन्। रासस

