अमेरिका हिँडेका ४० नेपाली ग्वाटेमालामा अलपत्र

‘अमेरिका जान भनेर काठमाडौं हुँदै दिल्लीबाट भेनेजुयलाको भिसा हानेर पठायो, भेनेजुयलाबाट मेक्सिको जाने क्रममा त्यहाँको एयरपोर्टमा हामीलाई समातेर शरणार्थी शिविर पठाए, बल्लतल्ल छुट्यौं, केहीलाई दलालले कोठामा थुनेर राखेको छ, हामीलाई बचाउनुपर्‌यो’, ग्वाटेमालाबाट टेलिफोनमा पीडा पोख्दै थिए कृष्ण न्यौपाने ।

आले थरका दलाललाई प्रतिव्यक्ति २५ देखि ३५ लाख रुपैयाँ बुझाई अमेरिकी सपना बुनेर हिँडेका ४० जना आफूजस्तै नेपाली युवक अहिले भेनेजुयलामा अलपत्र परेको न्यौपानेले जानकारी दिए । भेनेजुयलाबाट ग्वाटेमाला हुँदै अमेरिका पुर्‌याउने आश्वासनसहित दलालले पैसा लिए पनि मेक्सिकोको चपाला विमानस्थलमा प्रहरीले पक्राउ गरेको उनले बताए ।

‘१५ जनाभन्दा बढी नेपाली दुईदेखि तीन महिनासम्म शरणार्थी शिविरमा बसेर हालसालै छुट्यौं, केही अझै अलपत्र छन्, केही शनिबार मात्रै छुटे, केहीलाई दलालले नै कोठामा थुनेर राखेको छ’, न्यौपानेले अन्नपूर्णसँग भने ।

उनका अनुसार अहिलेसम्म ३५ लाख रुपैयाँ लिइसकेका आले थरका दलालले अझै १५ लाख रुपैयाँ दिएमात्रै अमेरिका पठाइदिने भन्दै उनीहरूलाई धम्क्याउँदै आएका छन् । आलेसँगै हस्ती गुरुङ लगायतका दलालले पर्यटक भिसामा उनीहरू ४० जनालाई भेनेजुयलाका लागि उडाएका थिए । अलपत्र पर्नेमा कृष्णसँगै नुवाकोट, पर्वत, म्याग्दी, चितवनलगायत जिल्लाका युवक छन् ।

‘म त भागेर ग्वाटेमाला आइपुगें तर कोही अझै मेक्सिकोस्थित चपाला एयरपोर्टमा समातिएपछि शरणार्थी शिविरमै छन् त कोहीलाई दलालले थुनेर राखेको छ’, न्यौपानेले भने । दलालका दुईजनालाई भने मेक्सिकोमा कानुनव्यवसायीले पैसा तिरेर निकालेका थिए । न्यौपानेका अनुसार दिल्लीमा अझै ४० जना भन्दा बढीलाई भेनेजुयला उड्ने गरी पर्यटक भिसामै ठिक्क पारेर राखिएको खबर अन्नपूर्णपोस्ट दैनिकले छापेको छ।

गत साता मात्रै महानगरीय प्रहरी अपराध महाशाखाले अमेरिकामा मानवतस्करी हुने तीनवटा रुट सार्वजनिक गरेको थियो । काठमाडौं, दिल्ली, थाइल्यान्ड, मेक्सिको हुँदै अमेरिकाको टेक्ससस्थित शरणार्थी शिविर पुर्‌याउने एउटा रुट हो भने काठमाडौंबाट दिल्ली, जापान, थाइल्यान्ड, मेक्सिको हुँदै टेक्ससको शरणार्थी शिविर पुर्‌याउने अर्को रुट ।

तेस्रो रुट थियो– काठमाडौं, सिंगापुर, जापान, मेक्सिको हुँदै टेक्ससकै शरणार्थी शिविरसम्म पुग्ने । काठमाडौंदेखि नै दलालले नयाँ दिल्ली, जापान र सिंगापुरमा एजेन्ट राखेर मेक्सिकोमा कानुनव्यवसायीलाई नै एजेन्ट बनाएर अमेरिका पठाउँदै आएका थिए ।

दलालले अमेरिका पुर्‌याउने तीनवटा रुटबारे अपराध महाशाखाले सूचना सार्वजनिक गरेपछि आफूले पढेर जानकारी पाएको न्यौपानेले बताए । उनले भने, ‘मिडियामा पनि आएछ, हामी धेरै जना अलपत्र परेका छौं, सरकारले चाह्यो भने उद्धार गर्न सक्छ ।’ न्यौपानेका अनुसार एमाले नेता उत्तरकुमार ओलीका आफन्त समेत अमेरिका जाने क्रममा मेक्सिकोमै अलपत्र परेका छन् । नेता ओलीले भने आफ्ना आफन्त अमेरिका पुगिसकेको जानकारी दिए ।





Comments

comments

Leave a Reply

14225