पर्यटकले भरियो , भ्रमणअघि अग्रिम जानकारी दिन आग्रह

सन्दर्भ तस्बिर

पोखरा। कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा पर्यटकको चाप बढेपछि भ्रमणमा जानुअघि अग्रिम जानकारी गराउन आग्रह गरिएको छ।
सिक्लेस

तिहारको भोलिपल्ट कात्तिक २६ गते एकैदिन एक हजार ३२४ जना पर्यटक सिक्लेस पुगेका छन्। मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार पर्यटक सूचना केन्द्रको तथ्याङ्कमा उक्त सङ्ख्या देखिएको हो। सिक्लेस पुगेका पर्यटकमध्ये अधिकांश आन्तरिक र नौ जना विदेशी रहेका छन्।

एकैदिन ठुलो सङ्ख्यामा पर्यटक पुगेपछि स्थानीय होटल तथा होमस्टेमा पाहुना व्यवस्थापन गर्न कठिनाइ भएको वडाध्यक्ष गुरुङले बताए। केही होटल तथा होमस्टे सञ्चालक तिहार मनाएर गाउँ नफर्किएका कारण व्यवस्थापनमा थप समस्या भएको उनको भनाइ छ। पर्यटकको चाप व्यवस्थापन गर्न भ्रमणअघि जानकारी गराउन आग्रह गरिएको उनले बताए।

सिक्लेस होटल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रजङ्ग गुरुङ ‘पारस’ले अग्रिम जानकारी र बुकिङ नगरी ठूलो सङ्ख्यामा पर्यटक पुग्दा होटल तथा होमस्टेको क्षमताभन्दा बढी चाप परेको बताउनुभयो । यद्यपि गाउँमा आफन्त तथा स्थानीयका घरमा राखेर भए पनि पर्यटकको व्यवस्थापन गरिएको उनले जानकारी दिए।

दसैँतिहारपछि सिक्लेस आउने पर्यटकको सङ्ख्या बढ्दै गएकाले भ्रमणमा निस्कनुअघि सम्बन्धित होटल, होमस्टे वा पर्यटन व्यवसायीसँग सम्पर्क गर्न अध्यक्ष गुरुङले आग्रह गरेका छन्। उनका अनुसार सिक्लेसमा ३२ होटल र ३७ होमस्टे सञ्चालनमा छन्। ती होटलमा एक हजार २०० र होमस्टेमा ३५० जना पाहुना राख्न सकिन्छ।

गाउँका अन्य घरमा समेत पाहुना व्यवस्थापन गर्दा एकैदिन करिब दुई हजार पर्यटकलाई सेवा दिन सकिने भए पनि अग्रिम जानकारीबिना पर्यटक पुग्दा व्यवस्थापनमा समस्या हुने उनले बताए।

सिक्लेस पर्यटन व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङले पर्यटकको आगमनले स्थानीयको आम्दानी र रोजगारी बढाएको बताए। उनका अनुसार गाउँका होटल तथा होमस्टेमा करिब १०० स्थानीयले रोजगारी पाएका छन्। पर्यटकको चाप बढ्दा सञ्चालकका परिवारका सदस्यले समेत पाहुना व्यवस्थापनमा सहयोग गर्ने गरेका छन्।

पोखराबाट ३८ किलोमिटरको दूरीमा रहेको सिक्लेसमा करिब ४०० घर छन्। गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँमा आउने अधिकांश पर्यटक प्रख्यात पर्यटकीय गन्तव्य कोरी र क्हफुचे हिमतालसम्म पदयात्रा गर्न पुग्ने गरेका छन्। रासस





Comments

comments

142293