थाइल्यान्डको पाटोङमा सोमबार बिहान चारतले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ३ः३० बजे रेस्टुरेन्ट तथा भाडामा बस्नेहरूका लागि आवासीय सुविधा रहेको भवनमा आगलागी भएको थियो।
आगलागी नियन्त्रणमा लिन दमकलकर्मीलाई करिब दुई घण्टा लागेको थियो । आगो नियन्त्रणमा लिएपछि भवनभित्र ११ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा थाइल्यान्ड र म्यानमाका नागरिक रहेका छन्।
आगलागीमा परी घाइते भएका १६ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । उनीहरूमा धुवाँका कारण श्वासप्रश्वासमा समस्या तथा सिसा फुट्दा लागेको चोटपटक रहेको प्रहरीले जनाएको छ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। थाइल्यान्डमा विशेषगरी बार, रात्रिक्लब तथा मनोरञ्जनस्थलको सुरक्षा व्यवस्थालाई लिएर लामो समयदेखि प्रश्न उठ्दै आएको छ।
यसअघि जुलाईमा बैंककस्थित एक व्यस्त बारमा विद्युतीय सर्ट सर्किटका कारण आगलागी हुँदा करिब ४० जनाको मृत्यु भएको थियो।
त्यस्तै, सन् २००९ को नयाँ वर्ष उत्सवका क्रममा राजधानी बैंककस्थित सान्तिका क्लबमा आगलागी हुँदा ६७ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका थिए।
लगातार भइरहेका यस्ता घटनाले थाइल्यान्डमा भवन तथा मनोरञ्जनस्थलको अग्नि सुरक्षा र आपत्कालीन उद्धार व्यवस्थामाथि पुनः गम्भीर प्रश्न उठाएको छ। रासस

