न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २० नोभेम्बर। हङकङ उच्च अदालतले २३ वर्षीया योग प्रशिक्षक चाउ वाइ-यिन (अक्वा) को हत्यामा दोषी ठहर भएका उनका ३२ वर्षीय पूर्वप्रेमी लो चुन-मिङलाई आजीवन कारावासको सजाय सुनाएको छ।
सन् २०२२ को जुन महिनामा सिम सा सुईस्थित एक होटलको कोठामा चाउको हत्या भएको थियो। हिजो जुरीले उनलाई हत्यामा सर्वसम्मत दोषी ठहर गरेपछि आज उच्च अदालतले उनलाई आजीवन कारावासको फैसला सुनाएको हो।
अदालतमा प्रतिवादी लोले माफी माग्दै आफूले मृतकलाई साँचो माया गरेको तर माया गर्ने तरिका गलत भएको बताएका थिए।
तर, न्यायाधीश क्वोक काइ-अनले मृतकको शरीरमा रहेका ४० भन्दा बढी छुराका घाउहरूले प्रतिवादीको क्रूरता, रिस र घृणा मात्र देखाउने भन्दै प्रेमसँग यसको कुनै सम्बन्ध नरहेको टिप्पणी गरे।
न्यायाधीशले प्रतिवादीले आफ्नो गल्ती स्वीकार्नुको साटो उल्टै मृतकलाई दोष थोपरेको र चरम यातना दिएर ज्यान लिएको भन्दै कडा आलोचना गरे।
अभियोजन पक्षका अनुसार सन् २०२१ मा प्रेम सम्बन्धमा रहेका उनीहरू २०२२ को जनवरीमा छुट्टिएका थिए।
मृतक चाउ योग तालिमका लागि अमेरिका उड्ने अघिल्लो दिन जुन २९ देखि सम्पर्कविहीन भएकी थिइन्।
पछि प्रतिवादी स्वयं वकिलसहित प्रहरी चौकी पुगेर रिट्ज-कार्लटन होटलको कोठाको साँचो बुझाएका थिए। प्रहरीले उक्त कोठाको बाथटबमा रगतले लतपतिएको अवस्थामा चाउको शव र ३४ सेन्टिमिटर लामो चक्कु फेला पारेको थियो।
आर्थिक संकट र व्यक्तिगत रिसका कारण प्रतिवादीले यो जघन्य अपराध गरेको अदालतको ठहर छ।
हङकङ मिडिया (on.cc) को सहयोगमा

