एनआरएनएले निर्माण गर्न लागेको लाप्राक एकीकृत नमुना वस्तीको प्रधानमन्त्रीद्वारा शिलान्यास

काठमाण्डौ । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले निमार्ण गर्न लागेको गोर्खाको लाप्राकस्थित एकीकृत नमुना वस्तीको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेका छन्।

शुक्रबार बिहान लाप्राक पुगेका प्रधानमन्त्री प्रचण्डले ६१२ घरसहितको नमुना वस्तीको शिलान्यास गरेका हुन्।

सो अबसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र प्रधानमन्त्री प्रचण्डले एनआरएनले बनाएको गुरुयोजनाको संयुक्तरुपमा अनावरण गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने – ‘यो एकीकृत वस्ती मात्र हैन, नमुना वस्ती पनि हो, यसले देशलाई नै नयां सन्देश दिन सक्छ, अरु सयौं नमुना वस्तीहरु वन्न सक्छन्।

’गैरआवासीय नेपालीहरुको राष्ट्रभक्ति देखेर आफू निकै प्रभावित भएको भन्दै भने–‘ यो निकै चुनौतीपूर्ण काम हो, सजिलो छैन, तर, शेष घलेजीको परिचय त्यसै बनेको हैन, उहांहरुले आँटेपछि काम पूरा गर्नुहुन्छ भन्ने मलाई बिश्वास छ ।’

भूकम्पबाट घरबिहीन हुन पुगेका एक हजार परिवारलाई घर निर्माण गरिदिने गैरआवासीय नेपाली संघको घोषणा अन्तर्गत गोर्खाको लाप्राकमा एकीकृत नमुना वस्ती बनाउन लागिएको हो।

यो वस्ती निर्माणका लागि सवै खर्च गैरआवासीय नेपाली संघले गर्ने छ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले वस्ती निर्माणको शिलन्याससंगै गैरआवासीय नेपाली र लाप्राकबासीको सपना पुरा हुन लागेको बताए।

‘हामीले एक बर्ष पहिले नै वस्ती निर्माणको सुरुवात गर्न चाहान्थ्यौं, हामीले त्यसका लागि चाहिने सवै पैसा संकलन पनि गरिसकेका थियौं’ अध्यक्ष घलेले भने –‘प्राधिकरण बन्न ढिलाई हुनु र समयमै स्वीकृति पाउन नसक्नुका कारण पनि हामीले चाहेजस्तो छिटो गर्न सकेनौं, ढिलै भए पनि अब नमुना वस्ती विकाशको सपना पुरा हुने भएको छ ।’ अध्यक्ष घलेले केही दिनमै निर्माण कार्य सुरु हुने र आगामी १२ महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको जानकारी दिए।

गत बर्ष बैशाख १२ गते आएको बिनासकारी भूकम्पबाट ध्वस्त भएको लाप्राक गाउंलाई सोही गाविसको केही माथि रहेको गुम्सीपाखाका स्थानान्तरण गरी वस्ती विकाश गर्न लागिएको हो । लाप्राकमा ६ सय १२ घर बनाउने योजना रहेकोमा हाल सरकारले उपलब्ध गराएको जग्गामा ४ सय ४४ घर मात्र अटने भएका छन्।

बांकी १५० घरका लागि नयां ठाउंमा जग्गा खोज्नुपर्ने भएकाले सो जग्गा पनि उपलब्ध गराइदिन अध्यक्ष घलेले प्रधानमन्त्रीसंग अनुरोध गरे। सम्बोधनका क्रममा प्रधानमन्त्रीले बांकी जग्गा पनि सरकारले नै उपलब्ध गराउने र गैरआवासीय नेपाली संघले ६ सय १२ घर नै बनाउन पाउने आश्वासन दिए।

लाप्राक एकीकृत वस्तीमा बिद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन, स्थानीय भेषभुषा र संस्कृति झल्कने संग्रहालय लगायतका संरचना बन्नेछन्।

वस्तीमा होम स्टे र सामुदायिका गेष्टहाउस बनाइ गाउंलेलाई आम्दानीको स्रोतसमेत ब्यबस्था गरिदिने संघको योजना रहेको छ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव डा. बद्री के.सी, सचिव अर्जुन कुमार श्रेष्ठ लगायत बिभिन्न देशबाट आएका पदाधिकारीहरु, आइसिसि सदस्यहरु, एनसिसिका प्रतिनिधिहरुका साथै गैरआवासीय नेपालीहरुको उपस्थीति रहेको थियो।

(प्रवक्ता रञ्जु थापा वाग्लेको सहयोगमा)





Comments

comments

Leave a Reply

14551