मह जोडीले अमेरिकामा यसरी गरे म्ह पूजा

विजय थापा ,वाशिंगटन डिसी

नेवा: समुदायको स्थापित गैरमुनाफा सामाजिक संस्था नेपा: पासा पुच अमेरिकाए (एनपीपीए)द्वारा मेरील्याण्ड राज्यको सिल्भर स्प्रिंगको एक बिद्यालयमा आयोजित म्ह पूजा कार्यक्रममा मह जोडीले आफ्ना परिवार साथ म्ह पूजा गरेका छन्।

नोभेम्बर ४ तारिख सम्पन्न उक्त म्ह पूजामा डिसी महानगर क्षेत्रका नेवा समुदायको साथै अन्य थर तथा जातिका नेपाली समुदायले समेत म्ह पूजा गरेका छन्।

एनपीपीएको रजत जयन्तको अवसरमा अमेरिका आएका मह जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्यले आज नोभेम्बर ५ तारिख बिशेष प्रस्तुति दिने छन्।

मदनकृष्ण श्रेष्ठले यसअघि पनि अमेरिकामा म्ह पूजा मनाई सकेको भन्दै यसको महत्व बारे जानकारी दिए। यसै गरी हरिबंश आचार्यले अमेरिकामा पहिलो पटक म्ह पूजा गरेको भन्दै आफूले बिगतमा पनि नेपालमा म्ह पूजा गरेको बताए। आचार्य आफ्नी पत्नी रमिला आचार्यसंग आएका छन् भने मदनकृष्ण श्रेष्ठकी छोरी अमेरिकामा रहेकीले उनि पनि आफ्ना पितालाई साथ दिएकी थिइन्।

कार्यक्रममा संस्थाकी अध्यक्ष सरोज प्रजापतिले सबैलाई स्वागत गरेकी थिइन् भने कार्यक्रमको लागि अमेरिकाका बिभिन्न राज्यहरुबाट यहि कार्यक्रमको लागि आएका थिए।

म्ह पूजापछि सांस्कृतिक साँझको पनि आयोजना गरिएको थियो। नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र ( एनईसीसी) को देउसी टोलिले सांस्कृतिक कार्यक्रममा देउसी भैलो खेलेको थियो भने यसको नेतृत्व खिलेन्द्र न्यौपानेले गरेका थिए।

एनईसीसीको देउसी भैलोको समन्वय संचारकर्मी परशु तिमिल्सिनाले गरेका छन् भने नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रले खेलेको देउसी भैलोमा मह जोडीले समेत सहभागिता जनाई अमेरिकामा पहिलो पटक देउसी खेलेका छन्।





Comments

comments

Leave a Reply

14870